वीरगञ्ज । वीरगञ्जको बाल सुधार गृहमा रहेका बालबालिकाहरूको हितलाई ध्यानमा राख्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले १३ बुँदे सुधार योजना पारित गरेको छ । निर्णयले बाल सुधार गृहको अवस्थालाई सुधार्दै बालबालिकाहरूलाई सुरक्षित, सहज र स्वास्थ्यकर वातावरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैठकले बाल सुधार गृहमा मर्मत सम्भार र पूर्वाधार विकासमा विशेष जोड दिएको छ । आगामी एक हप्ताभित्र सुधार गृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्रीहरूको मर्मत कार्य सम्पन्न गरिने निर्णय गरिएको छ । यसै गरी, बालबालिकाहरूलाई इन्टरनेट सुविधा दिन आजै वाईफाई जडान गर्ने तथा ल्यापटप र कम्प्युटरहरूको मर्मत सम्भारको व्यवस्था मिलाइने भएको छ ।

बालबालिकाहरूको मानसिक स्वास्थ्य सुधारका लागि हप्तामा एक पटक अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाइनेछ । गर्मी मौसमलाई मध्यनजर गर्दै पङ्खा र खानेपानीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गर्नेछ भने क्षयरोगबाट सङ्क्रमित बालकको उपचारका लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय गरी समाधान गरिनेछ ।

बाल सुधार गृहमा रहेका बन्दीहरूको सुविधाबापतको रकम समयमै भुक्तानी गर्न आवश्यक विवरण कारागार कार्यालयमा पेस गर्ने व्यवस्था मिलाइनेछ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले बालबालिकाहरूको शिक्षालाई निरन्तरता दिन पाठ्यपुस्तक र सन्दर्भ सामग्री उपलब्ध गराउने भएको छ । साथै, बाल सुधार गृहमा पुस्तकालयको स्थापना गरी अध्ययनशील बालबालिकाहरूका लागि तहगत शिक्षकको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने निर्णय भएको छ ।

खानेपानीको समस्या समाधानका लागि बाल सुधार गृह परिसर नजिकै रहेको डिप बोरिङबाट पाइप जडान गरी नियमित रूपमा पानी आपूर्ति गरिनेछ । रातको समयमा बत्ती जाने समस्यालाई समाधान गर्न वैकल्पिक ऊर्जाको व्यवस्थापनका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरिने भएको छ ।

बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन वीरगञ्ज महानगरपालिकाले सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरिएको छ । साथै, अनधिकृत व्यक्तिहरूको प्रवेश रोक्न अनुगमन र निरीक्षणलाई थप व्यवस्थित बनाइनेछ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले १३ बुँदे निर्णयलाई प्राथमिकता दिँदै बालबालिकाहरूको सुरक्षित र सहज जीवनयापनका लागि आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे । सुधारात्मक कदमहरूले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।