वीरगञ्ज ०६ बैशाख ।

वीरगञ्जस्थित जि.एच.पी. माध्यमिक विद्यालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) क्रिकेट टूर्नामेन्ट २०८१ को पुरुष र महिला दुबै तर्फको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाईनल खेलमा जि.एच.पी. माध्यमिक विद्यालयको महिला टोलीले ए प्लस एकेडेमीलाई ६ विकेटले पराजित गर्‍यो भने पुरुष टोलीले नवयुग स्कुललाई ३५ रनले हराएपछि दुबै उपाधि जित्न सफल भएको हो ।
एनप्याब्सन वीरगञ्जले आयोजना गरेको पुरुष क्रिकेट टूर्नामेन्टको रोमाञ्चक फाइनलमा जीएचपी माध्यमिक विद्यालयको महिला टोलीले ए प्लस एकेडेमीलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो ।
६९ रनको लक्ष्य पछ्याउँदै जि.एच.पी.माध्यमिक विद्यालयका महिला खेलाडीहरूले केवल १० ओभरमा जित हासिल गरे । खेलमा जि.एच.पी.की मंशा यादवले प्लेयर अफ द म्याचको पुरस्कार जितिन् । उनले दबाबमा १९ रन बनाउँदै टोलीलाई जितको बाटोमा डोर्‍याइन् भने एक महत्वपूर्ण विकेट लिएर खेलको लय जि.एच.पी.को पक्षमा ल्याइन् ।
यस्तै जि.एच.पी. माध्यमिक विद्यालयको पुरुष टोलीले पनि फाइनलमा नवयुग स्कुललाई ३५ रनले हराउँदै उपाधि जितेको हो । आक्रामक ब्याटिङ र कसिलो बलिङका कारण जि.एच.पी. स्कूलले शानदार जित हासिल गरेको हो ।
जि.एच.पी. का खेलाडि अर्पित गुप्ताले प्लेयर अफ द म्याचको सम्मान प्राप्त गरे । उनले २६ बलमा ५९ रनको विस्फोटक पारी खेल्दै टोलीको आधार खडा गरेका थिए ।
विद्यालयकी प्रधानाध्यापक रोमी कौरले उपलब्धिप्रति खुसी व्यक्त गर्दै भनिन्, “हाम्रा विद्यार्थीहरूले ट्रफी मात्र जितेनन्, टिमवर्क, दृढता र उत्कृष्टताको मूल्य पनि प्रदर्शन गरे । यो जीत सम्पूर्ण जीएचपी परिवारको हो ।”