कल्याणपुर (सप्तरी) साउन २० गते । मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारिता पेशालाई मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले पत्रकारिता व्यवसायलाई व्यावसायिकता र मर्यादामा ल्याउन आचारसंहिताको पालन अपरिहार्य रहेको बताउनुभएको हो ।

पत्रकारितालाई व्यवस्थित र गुणस्तरीय बनाउने दिशामा पत्रकारको क्षमता विकासमा मिडिया काउन्सिलले ध्यान दिइरहेको उल्लेख गर्दै उहाँले पत्रकारहरुबाट आएका सुझावलाई आत्मसात् गर्दै मिडियामैत्री वार्षिक कार्यक्रम तय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष यादवले वरिष्ठ पत्रकारको सम्मान तथा पत्रकार कल्याणका लागि ‘पत्रकार कल्याण कोष’ स्थापना गरी चालू आर्थिक वर्षमै सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो ।

नीति निर्माणको माध्यमबाट पत्रकारितामा देखिएको विकृति अन्त्य गरी यस पेशालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्य काउन्सिलको रहेको उहाँले स्पष्ट पार्नुभयो ।

हालसम्म मधेश प्रदेशमा ६२ वटा अनलाइन मिडिया दर्ता भइसकेका छन् । ती मिडियालाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनको पहुँचमा ल्याउने उद्देश्यले कार्यविधि निर्माण प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

मिडिया काउन्सिलकी सदस्य रिंकु मिश्रले पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा वृद्धि भईरहेकाले त्यसको प्रभावकारी नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले प्रदेशस्तरीय मिडिया काउन्सिलले सम्पूर्ण पत्रकार, पत्रिका तथा पत्रकारिता क्षेत्रको समग्र विकासमा अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै, आम सञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष श्यामसुन्दर यादवले सञ्चार ऐन संशोधन गरी मिडिया काउन्सिललाई पूर्णरुपमा स्वायत्त बनाउँदै बजेट विनियोजनमा सम्मानजनक व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवले अमर्यादित पत्रकारिता र आचारसंहिता उल्लङ्घन गर्ने मिडियालाई नियन्त्रणमा ल्याउन काउन्सिलको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष वैद्यनाथ झाले पत्रकारिता मर्यादित र व्यावसायिक बनाउन यूट्युबर र अमर्यादित पत्रकारितालाई नियमन गर्न काउन्सिल सक्रिय हुनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी, अर्का पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, राष्ट्रिय परिषद सदस्य मनोजकुमार माझीले पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा काउन्सिलको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै यूट्युबर मार्फत पत्रकारितामा फैलिएको विकृति नियमन  गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काउन्सिल सदस्य मनु पासवान, आम सञ्चार प्राधिकरणका सदस्य तथा पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन गुप्ता सहितका सुझाव दिनुभएको थियो ।