२६ साउन, वीरगञ्ज ।  मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारा जिल्लामा ९५ प्रतिशत पुगेको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशतमा सीमित भएको छ।

प्रदेशको पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने परम्परा छ। यस वर्ष अहिलेसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ।

पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्र विस्तार भएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, तथा सर्लाही र रौतहटमा बागमतीको पानी प्रयोग गरेर किसानले सिँचाइ गरेका छन्। तर, धनुषामा कमला नदी सुक्दा किसानहरू बढी प्रभावित भएका छन्।यस वर्ष अधिकतम ८० प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत घट्ने आशंका निर्देशक यादवले व्यक्त गरे।

सुक्खा र खडेरी प्रभावित किसानका लागि मधेस प्रदेश सरकारले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत तत्काल राहतको घोषणा गरेको छ। हालसम्म प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन्।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार सिँचाइ सहयोगका लागि प्रदेश सरकारले १८ करोड रुपैयाँको बजेट विनियोजन गरेको भए पनि रकम पर्याप्त छैन। यसका लागि संघीय सरकारको निर्णयको पर्खाइमा रहेको उनले बताएका छन्।