वीरगञ्ज,भदौ ३ गते ।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नारायणी अस्पतालको मेडिकल वार्डमा जडान गर्नका लागि अस्पताल प्रशासनलाई वातानुकुल एसी प्रदान गर्नुभएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल वार्डमा उपचार गराईरहेका बिरामीहरु अत्यधिक गर्मीका कारण समस्यामा रहेको देख्नु भएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवले अस्पताललाई तीन थान वातानुकुल एसी प्रदान गर्नुभएको हो ।
सोमबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँगै वीरगञ्जस्थित नारायणी अस्पतालको निरीक्षण गर्ने क्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवले पंखा मात्र रहेको मेडिकल वार्डमा अत्यधिक गर्मीका कारण बिरामीहरूलाई उपचारमा कठिनाइ भइरहेको अवस्था देखेपछि वातानुकुल एसी उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताका अनुसार, जगरनाथपुरका अध्यक्ष यादवले निरीक्षणकै क्रममा सखुवा प्रसौनी र जीराभवानी गाउँपालिकाका अध्यक्षहरूसँग फोन सम्पर्क गरी ती दुई पालिकाबाट ३/३ थान र जगरनाथपुर गाउँपालिकाबाट ३ थान गरी कूल ९ थान एसी जडान गरिदिने प्रतिबद्धता गर्नु भएको हो ।
मंगलबार अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई जगरनाथपुर गाउँपालिकाका तर्फबाट तीन थान एसी हस्तान्तरण गर्दा जगरनाथपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको समेत उपस्थिती रहेको थियो ।
अध्यक्ष गुप्ताका अनुसार, अध्यक्ष यादवले एक हप्ताभित्रै सबै एसी जडानको प्रक्रिया पूरा हुने विश्वास दिलाउदै अस्पतालको समग्र सुधारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।