वीरगञ्ज, भदौ ४ गते ।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेको नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेको नारायणी स्टील उद्योगको वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा कार्यरत एक युवकको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर मृत्यु हुनेमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का २२ वर्षीय उपेन्द्र चौधरी रहेका छन् ।
करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीलाई करेन्ट लागेको दुई घण्टापछि नारायणी अस्पताल पुर्‍याइएकोमा अस्पतालले राति ३ बजे मृत घोषणा गरेको थियो । मृतकका आफन्तहरूले उद्योगमा मजदुरहरूलाई सुरक्षित रूपमा काम गर्ने वातावरण नभएकोले घटना भएको दाबी गरेका छन् भने मजदुर संगठनहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।
अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले सञ्चालन गरेको सम्पूर्ण उद्योगमा मजदुरको ट्रेड युनियनसम्बन्धी अधिकार नभएको बताउदै घटना घटेको नारायणी स्टीलमा ठेकेदारमार्फत मजदुर राख्ने गरिएको र प्रचलित कानुनअनुसार कुनै पनि सुविधा नदिइएको दाबी गर्नु भयो ।
क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले रात्रिकालीन सिफ्टमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको खबर आफूले पाएको बताउनुभयो। उहाँले मृतक उद्योगको नियमित मजदुर नभए पनि दुर्घटना बिमा गरिएकोले नेपाल सरकारले तोकेअनुसारको क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिनुभयो।
अध्यक्ष तिमिल्सिनाले घटनामा परेका मजदुरलाई उचित क्षतिपूर्ति र परिवारको सदस्यलाई नियमित पेन्सनको व्यवस्था नगरिए नारायणी स्टील उद्योगविरुद्ध कानुनी प्रक्रियामा जाने बताउनुभयो ।