दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ १० गते ।
वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समयपनि फैलिरहेकै छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म ९३ जना झाडापखालाका बिरामीहरु अस्पताल भर्ना भएका छन् पछिल्लो परीक्षण रिपोर्ट अनुसार १ सय १४ जनामा हैजाको संक्रमण पुष्टी भएको छ ।
वीरगञ्जका बिभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरी १९९ जना बिरामी उपचाररत छन् । वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा १०७ जना, नेशनल मेडिकल कलेजमा १८ जना ,तराई अस्पतालमा ३७ जना , वीरगञ्ज हेल्थकेयर अस्पतालमा १९ जना बिरामी उपचाररत छन् ।
यस्तैगरी सर्वोत्तम अस्पतालमा ७ जना , एडभान्स मेडिकेयर अस्पतालमा ३ जना , प्रभु अस्पतालमा १ जना , नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २ जना र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन् ।
अहिलेसम्म वीरगञ्जका बिभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको संख्या ४ सय २२ पुगेको छ जसमध्ये उपचार गराएर २ सय २३ जना डिस्चार्ज भई घर फर्कि सकेका छन् र १ सय ९९ जना उपचाररत छन् ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ४३ , तराई अस्पतालमा ३८ , नेशनलमेडिकल कलेजमा १५ , भवानी अस्पताल , वीरगञ्ज हेल्थ्यकेयर अस्पताल , मंगलम प्याथोलोजीमा ३/३ जना अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर अस्पतालमा २/२ जना , सर्वोतम अस्पताल , नारायणी सेन्ट्रल अस्पताल , नेपाल ईण्डो अस्पताल, निलकण्ठ अस्पताल र बयोधा अस्पताल मा १/१ जना झाडापखाला लागेर भर्ना भएका बिरामीमा हैजा पुष्टि भएको हो ।
वीरगन्ज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरु बन्द गरेको छ । वीरगन्जमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएको र त्यसको रोकथाम र नियन्त्रणमा जुटेको महानगरपालिकाले विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको हो ।
वीरगञ्जमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ । यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएको विद्यालयहरु मंगलबार हरितालिका तीज पर्वको सार्वजनिक विदाका कारण बन्द थिए ।
वीरगञ्ज महानगरपालिकाले हैजाको संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा पानीको नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको छ ।
माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको महानगरपालिकाको प्राविधिक टोलीले शंकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्न थालेका हुन् ।
हैजाको संक्रमण कही होटल तथा माछा मासुका कारण भएको होईन भनी वीरगञ्ज महानगरपालिकाले होटल र मासु पसलहरूमा अनुगमन सुरु गरेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूमा अनुगमन गरेर त्यहाँको सरसफाइ अवस्थाबारे जाँच गरेको थियो ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका वीरगञ्जमा उपचाररत बिरामीको दिसाको कुल १० नमुनामध्ये ८ नमुनाहरूमा पनि हैजाको संक्रमण पुष्टि भएको छ । बाँकी २ नुमनाको रिपोर्ट भने बुधबार आउनेछ जनाईएको छ ।
प्रयोगशालामा गरिएको कल्चर परीक्षणमा ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा हैजा फैलिरहेको संकेत गरेको उहाँले बताउनु भयो ।
उता महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि शहरका नाला, पोखरी तथा पानी जम्ने स्थानमा पम्प–स्प्रे मार्फत औषधि छर्ने अभियान बुधबारदेखि सुरु गर्ने भएको छ ।