वीरगन्ज,१०भदौंःहैजाको जोखिम बढिरहेका बेला वीरगन्ज महानगरपालिकाले होटल र मासु पसलहरूमा व्यापक अनुगमन थालेको छ । मंगलबार महानगरको संयुक्त टोलीले मुर्ली, पानी टंकी, बसपार्क र नगवा क्षेत्रमा रहेका होटल तथा मासु पसलहरूमा अनुगमन गरेर त्यहाँको सरसफाइ अवस्थाबारे जाँच गरेको हो ।

अनुगमनका क्रममा पसल र होटलभित्रको सरसफाइ, खानेपानीको स्वच्छता, सुरक्षित भण्डारण, फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षण गरिएको हो ।महानगरको टोलीले व्यवसायीहरूलाई स्वास्थ्य र स्वच्छताप्रति विशेष ध्यान दिन चेतावनीसहित सचेतपनि गराएको छ ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार पशु सेवा शाखा, वातावरण शाखा र महानगर प्रहरी बलको संयुक्त टोलीले अनुगमन गरेको हो । मेयर सिंहले हैजा फैलनबाट रोक्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै नियमित अनुगमनलाई निरन्तरता दिइने बताए ।

“होटल तथा मासु पसलहरूमा स्वच्छता कायम भए मात्र हैजासहितका संक्रमणजन्य रोग नियन्त्रण गर्न सकिन्छ,” सिंहले भने, “यसलाई अब दैनिक कार्यको रूपमा अघि बढाइन्छ ।”

महानगरले हैजा नियन्त्रणका लागि जनचेतना कार्यक्रम, दूषित पानीको परीक्षण, संक्रमित क्षेत्रको सरसफाइ र स्वास्थ्यकर्मीमार्फत घरदैलो अभियानलाई पनि सक्रिय पारेको छ । स्थानीयवासीलाई पानी उमालेर पिउन, सफा खानेकुरा मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।