दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ १५ गते ।
संघीय सरकारका गृह मन्त्री रमेश लेखकले सीमा अपराध, लागुऔषध कारोबार र राजश्व चुहावट रोक्न तीन वटै सुरक्षा निकायलाई सक्रिय भएर लाग्न निर्देशन दिदै सरोकारवाला सबै निकायबिच समन्वय तथा सहकार्य गर्न सुझाव दिनु भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित बारा तथा पर्सा जिल्ला सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले दुबै जिल्लाको अवस्थाको बारेमा छलफल गर्नेक्रममा सीमा अपराध, लागुऔषध कारोबार र राजश्व चुहावट रोक्न सक्रिय भएर लाग्न निर्देशन दिनु भएको हो ।
गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि एक निकायले अर्को निकायलाई दोषारोपण नगरी समन्वय तथा सहकार्य गरेर अगाडि बढनु पर्ने धारणा राख्नुभयो ।
गृहमन्त्री लेखकले सुरक्षा प्रमुखहरूलाई शून्य सहनशीलतामा काम गर्न र भारतीय नम्बर प्लेटका सवारी साधनलाई दुःख नदिन समेत निर्देशन दिनुभयो ।
बारा र पर्सामा धार्मिक सहिष्णुता अपनाएर धार्मिक गतिबिधि गर्न गराउन सुरक्षानिकायले गम्भीरताका साथ काम गर्नु पर्ने गृहमन्त्री लेखकले बताउनु भयो ।
बैठकमा संघीय कानुनमन्त्री अजयकुमार चौरसिया, संघीय खानेपानी मन्त्री प्रदीप यादवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय, राजश्व विभागका प्रमुखहरूको सहभागिता थियो ।
त्यसलगतै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीन वटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबिच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिनु भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको जानकारी गराउनु भएको थियो ।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख शर्माले भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरू दर्ता गरी सोहीमार्फत तस्करी तथा अवैद्य गतिबिधि गर्ने गरेको पाईएको बताउनु भयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच गृहमन्त्री रमेश लेखकले शनिवार राती करिब ८ बजे नारायणी अस्पतालको निरीक्षण गर्नु हुर्दै वीरगञ्जमा हैजा नियन्त्रणका लागि सरकारले सबै आवश्यक शक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
हैजा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार परिचालन गर्न सकिने निर्णय भइसकेको बताउदै उहाँले स्थलगत अवलोकन पछि समाचारहरुमा आएजस्तो त्रसित हुने अवस्था नरहेको र नारायणी अस्पतालका स्वास्थ्यकर्मीले राम्रो काम गरिरहेका बताउनु भयो ।
अस्पताल तथा बिरामीहरुको निरिक्षणपछि सम्पन्न छलफलमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, संघीय कानूनमन्त्री अजय चौरसिया, संघीय खानेपानी मन्त्री प्रदीप यादव, मधेस प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, मधेस प्रदेशका डिआइजी उमा चतुर्वेदी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट , अस्पताल विकास समितिका अध्यक्ष धिरज शर्मा र अस्पतालका मेसु डा. चुमनलाल दासको सहभागिता रहेको थियो ।