चोरी तथा लागुऔषध कारोबार गरेको आरोपमा एक युवक पक्राऊ


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १५ गते ।
पर्सा प्रहरीले चोरी र लागुऔषध कारोबारको कसुरमा एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सुचनाअधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का शेख साहेबजान मियाँ भन्ने मखु चोरी र लागुऔषध कारोबारको कसुरमा पक्राऊ परेका हुन् ।
चोरी गरेको आरोपमा पक्राऊ परेका शेख साहेबजान मियाँलाई अनुसन्धान गर्ने क्रममा उनको कोठाबाट लागुऔषध र ठूलो मात्रामा नगद तथा गरगहना बरामद गरिएको प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
भदौ ६ गते वीरगञ्ज वडा नम्बर १५ शिरोमणी टोलस्थित रामपुकार प्रसाद यादवको घरमा चोरी भएको थियो । घरधनी सविता कुमारी देवी बाहिर गएको मौका पारी चोरले ताल्चा फुटाएर भारतीय र नेपाली रुपैयाँ गरी करिब २ लाख ५४ हजार ८ सय रुपैयाँ र सुन–चाँदीका गरगहना चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजको आधारमा मियाँलाई भदौ ८ गते नियन्त्रणमा लिएको थियो । उनी यसअघि पनि पटकपटक चोरीको कसुरमा सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मियाँको घरमा खानतलासी गर्दा प्रहरीले ९ किलो ८०९ ग्राम लागु औषध गाँजा, एक थान डिजिटल तराजु, विभिन्न सुनका गरगहना, चाँदीका गरगहना र स्रोत नखुलेको १५ लाख १५ हजार रुपियाँ नगद बरामद गरेको छ । चोरी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेकोमा अब लागुऔषध कारोबारको कसुरमा पनि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
फोटो पनि छ
क्याप्सन
चोरी गरेको आरोपमा पक्राऊ परेका शेख साहेबजान मियाँको कोठाबाट प्रहरीले बरामद गरेको गाँजा, डिजिटल तराजु, सुनका गरगहना, चाँदीका गरगहना र १५ लाख १५ हजार रुपियाँ ।
तस्वीर : जिप्रका पर्सा श्रोत

सम्बन्धित खबर


