दिपकप्रसाद गौतम
वीरगञ्ज, मंसिर ३ गते ।
पर्सा प्रहरीले वीरगञ्जबाट चोरीका सुनचाँदीका गहनासहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार पत्रकार सम्मेलन गरी चोरीका सुनचाँदीका गहनासहित पक्राऊ परेका ३ जना भारतीय नागरिक सहित ४ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया जिल्लाको बल्थर थानाका ३३ वर्षीय विजय राय, ६० वर्षीय शेख बुनाद, ३१ वर्षीय विनोद राउत र पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का २० वर्षीय विद्याकुमार नट रहेका छन् ।
बरामद गरिएका गहनाको मूल्य करिब ३७ लाख रुपैयाँ बराबरका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक हरी बहादुर बस्नेतले जानकारी दिनु भयो ।
प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार, गत कात्तिक ३० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मिलनचोकमा शंका लागेर प्रहरीले जीतपुरबाट मिलनचोकतर्फ जादै गरेको लु. ९६ प ३७३३ नम्बरको स्कुटीमा सवार शेख बुनादको खानतलासी गरेको थियो । खानतलासीका क्रममा पाइन्टको खल्तीबाट बिलबिना सुनका केही गहना फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
शेख बुनादको बयानका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मुसहर टोलका २० वर्षीय विद्याकुमार नटको घरमा खानतलासी गर्दा ३६ लाख ७० हजार ५१ रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहनाहरू फेला परेको थियो ।
बरामद गरिएका सामानमा सुनको सिक्री ११ थान, झुम्का २ थान, नथिया ३ थान, पोतेसहितको माला २ थान, लकेट १ थान, औंठी १ थान, मांगटीका २ थान, चाँदीको पाउजु १० थान, चाँदीका सिक्का २ थान, सुनको बिछिया ८ थान, चाँदीको हाथशंकर २ थान तथा सुनचाँदी तौल गर्ने तराजु १ थान र नगद नेपाली ३ लाख ७९ हजार रुपियाँ र भारतीय ९ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएका गहनाहरू पर्सा र बाराका विभिन्न मेलामेला, उत्सव तथा चाडपर्वमा भीडभाडबाट चोरी गरिएका हुन सक्ने अनुमान गरेको छ ।
पक्राउ परेका चारै जना उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।