३ मंसिर,वीरगञ्ज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएपछि पदमुक्त भएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तावमाथि छलफल तथा मत विभाजन गरिँदा प्रस्ताव पक्षमा ७६ मत परेपछि उपसभामुख बबिताकुमार राउत ईशरले मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन्। बैठकमा ७८ सांसद उपस्थित थिए।

गत कात्तिक २७ गते सभामुख मण्डलमाथि पदअनुकूल आचरण नभएको आरोप लगाउँदै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले प्रस्ताव दर्ता गरेका थिए। सोही प्रस्तावमाथि छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा आजको बैठक बोलाइएको थियो।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव बैठकमा पेस गरेपछि छलफलमा लोसपाका उपेन्द्र महतो, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका गणेश पटेल र प्रमोद यादवले आफ्नो धारणा राखेका थिए।

छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको प्रस्ताव मत विभाजनमार्फत पारित भएको हो।

बैठकको दोस्रो चरणमा नेकपा एमालेका सांसद भने अनुपस्थित रहे।