४ मंसिर, काठमाडौँ । बुधबार दिनभर अशान्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था हाल सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ । जेनजी युवाहरूले नेकपा एमाले नेता महेश बस्नेतको आगमनको विरोधमा बुधबार विहान प्रदर्शन गरेपछि क्षेत्र तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको  थियो । यसबीच सिमरा घटनापछि बुधबार साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षित वातावरण तयार गर्ने निर्णय गरेको छ  ।

चारै सुरक्षा निकायबाट हाल देखिएका चुनौतीहरूको प्रस्तुति, छलफल तथा समीक्षा गरी आवश्यक दिशानिर्देश तयार गर्ने, निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष र भयरहित बनाउन “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” अनुसार सबै प्रदेशमा कमाण्ड पोष्ट र निर्वाचन सेल गठन गर्न प्रमुख सचिवहरूलाई निर्देशन दिने, र वर्तमान संवेदनशीलतालाई मध्यनजर गर्दै सबै सुरक्षा निकायबीच घनिष्ठ समन्वयमा सुरक्षा व्यवस्था कडा बनाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ ।

राजनीतिक प्रतिक्रिया : ‘सभा गर्न नदिएर चुनाव सम्भव छ?’

सिमरामै नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम अवरुद्ध भएपछि राजनीतिक वृत्तमा तीव्र असन्तुष्टि देखिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेताहरूलाई नागरिकबीच जान नदिई चुनाव गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “५०–६० जना मान्छे ढुंगामुढा गरेर एयरपोर्ट बन्द गराइदिन्छन्, हाम्रा नेताहरू रोकिन्छन्, अनि भन्छ चुनाव गर्ने? सभा गर्न नदिने सरकारले विश्वासिलो निर्वाचन कसरी गराउँछ?”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सिमरा घटनालाई “दुःखद र चिन्ताजनक” बताए। उनले भ्रमण र सभाको वातावरण नबने चुनाव नै प्रश्नमा पर्ने टिप्पणी गरे ।

रास्वपाको केन्द्रीय कमिटी बैठकले घटनालाई “संवेदनशील” भन्दै सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

सिमरामा उत्पन्न तनावबारे प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सार्वजनिक सम्पत्ति तोडफोड, विमानस्थल अवरोध जस्ता गतिविधि लोकतान्त्रिक मूल्यसँग असंगत रहेको बताइन् ।

उनले भनिन्, “सिमरामा देखिएको हिंसा अत्यन्तै दुःखद छ। यस्ता अराजक क्रियाकलाप लोकतन्त्रमा स्वीकार्य हुँदैन। तर युवाहरूको आक्रोश र असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।”

गृह मन्त्रालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सिमराको अवस्था नियन्त्रणमा रहेको र स्थानीय प्रशासनले शान्ति–सुरक्षा पुनःस्थापनामा सक्रिय रहेको जानकारी दिएको छ। मन्त्रालयले सबै दल तथा समूहलाई स्थानीय प्रशासनसँग समन्वयबिना कार्यक्रम नगराउन आग्रह गरेको छ ।

सिमरा घटनापछि ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको ढिलासुस्ती नै हिंसात्मक घटना भइरहने कारण भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले चेतावनी दिए, “यदि गृहमन्त्रीले राजीनामा नदिए, भ्रष्टाचारी र हत्यारालाई नसमाते, युवामाथि कुटपिट भयो तर सरकारले आँखा चिम्लियो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्नेछु।”

जेनजी युवाहरूले आज विहान एमाले नेताहरूको आगमन रोक्न प्रदर्शन गरेका थिए। झडपपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।