वीरगञ्ज, पुस १४ गते ।
प्रगतिशील लोकतान्त्रिक पार्टी मधेस प्रदेशको एकता बैठकबाट पर्सा जिल्ला इन्चार्जमा अमिताभ बच्चन दास सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
पार्टीका मधेस प्रदेश इन्चार्ज शिवचन्द्र कुश्वाहाको अध्यक्षतामा वीरगञ्ज सम्पन्न बैठकले दासलाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको हो ।
पर्सा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका अमिताभ बच्चन दासले पार्टीले सुम्पिएको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, “पार्टीको नीति र सिद्धान्तलाई आत्मसात् गर्दै पर्सामा संगठन विस्तार र जनसरोकारका मुद्दाहरूलाई प्राथमिकतामा राखेर म सक्रिय रूपमा लाग्नेछु ।”
उक्त एकता बैठकले १५१ सदस्यीय प्रदेश समिति गठन गर्दै प्रदेशका आठवटै जिल्लाका इन्चार्ज चयन गरेको छ । पर्सामा अमिताभ बच्चन दास, बारामा रञ्जित पटेल (दिनेश), रौतहटमा जयप्रकाश जैसवाल, सर्लाहीमा मेघराज फुयाल, महोत्तरीमा राजेश सिंह, धनुषामा सुमित कर्ण, सिरहामा अरविन्द यादव र सप्तरीमा पुजन सिंहलाई जिल्ला इन्चार्जमा चयन गरिएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सुरेन्द्र जैसवाल (अशोक) को प्रमुख आतिथ्य तथा पूर्वमन्त्री सत्यनारायण भगतको उपस्थिती रहेको बैठकले सन्तोष राज घिमिरे, हसमजान अन्सारी, सुरेश चौधरी, छठु चौधरी र सुमित कर्णलाई मधेस प्रदेश अध्यक्ष परिषद् सदस्यमा चयन गरेको छ ।