दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस १५ गते ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको शासकीय स्वरुप बदल्नु पर्ने अवस्था आएको बताउनु भएको छ ।
वीरगञ्जमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र यादवले विद्यामान संसदीय व्यवस्था रहुञ्जेन कहिल्यै राजनैतिक स्थिरता नहुने दाबी गर्दै संसदीय व्यवस्था नै फेल भएको आरोप लगाउनु भएको हो ।
वर्तमान संसदीय व्यवस्थालाई अन्त्य गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिको व्यवस्था गरी निर्वाचित संसद तथा सभासदहरुलाई सरकारमा जानलाई होईन संसदीय र विधायकीय काम गर्ने व्यवस्था गरिनु पर्ने बताउनु भयो ।
सरकार प्रमुख र राष्ट्र प्रमुखले विशेषज्ञहरुलाई सहभागी गराएर सरकार बनाउने शासकीय व्यवस्था भए मात्र देशमा विकास हुने अन्यथा बिगत ३५ वर्षको जस्तै हुने दाबी गर्नुभयो ।
अब आफूहरुको लडाई भष्ट्राचार नियन्त्रणका लागि , सुशासनका लागि , प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि हुने उदघोष गर्दै अध्यक्ष यादवले पहिचानमा आधारित संघियताका लागि र जनसंख्याको आधारमा प्रतिनिधित्वका लागि हुने सम्पूर्ण मधेसीहरु एक हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मेचिदेखि महाकालीसम्म मधेसीहरुको जनसंख्या करिब ६० प्रतिशत रहेको छ तर संसदमा मधेसीको २१ प्रतिशत मात्र प्रतिनिधित्व रहेको छ । राष्ट्रिय सभामा ५९ जना सदस्यमा मात्र ५ जना सदस्य मधेसी रहेका छन । यस्तो व्यवस्था हामीलाई मान्य हुँदैन ।’
जनता समाजवादी पार्टी नेपालका महासचिव एंव मधेस प्रदेशका भूतपुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले भएका विकास निमार्णको जस लिने सरकार चलाएका शासकहरुले बढेको भष्ट्राचारको पनि जिम्मा लिनुपर्ने , युवाहरुलाई बिदेश भासिन बाध्य गराउने कार्यको समेत जिम्मा लिनु पर्ने धारणा राख्नुभयो । ओलि नेतृत्वको कुशासनको कारण जेन्जी आन्दोलन भएको आरोप लगाउदै उहाँले अहिलेको सरकारले चुनाव गराउन चाहेको भएपनि पूराना शासकहरु चुनाव गराउने पक्षमा नरहेको , चुनाव हुने वातावरण तयार गर्ने तर्फ नलागेको बताउनु भयो ।
जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा सम्पन्न उक्त विशाल जनप्रर्दशन तथा बिरोध सभामा केन्द्रिय सहअध्यक्ष रकम चेमजोङ , केन्द्रिय उपाध्यक्ष गोबिन्द चौधरी , कार्यकारिणी सदस्य हरिनारायण यादव , मधेश प्रदेशका आठै जिल्लाका अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।