दिपकप्रसाद गौतम
वीरगञ्ज, माघ १ गते ।
स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको छ ।
मधेस प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्याम प्रसाद पटेलले बिहीबार स्व. गिरीको पुण्यतिथिको अवसरमा नेपाल पत्रकार महासंघ पर्साद्वारा आयोजित पुरस्कार वितरण समारोहमा पत्रकार देवकोटालाई नगद ५१ हजार रुपियाँ सहित कदरपत्र हस्तान्तरण गर्नु भएको हो ।
वीरगञ्जका भूतपुर्व नगर प्रमुख तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका भूतपुर्व अध्यक्षसमेत रहनुभएका स्व. गोपाल गिरीको विक्रम सम्बत २०६० साल माघ १ गते तत्कालीन बिद्रोही समूह (माओवादी)द्वारा गोली हानी हत्या गरिएको थियो ।
पुरस्कृत पत्रकार देवकोटा वीरगञ्जबाट प्रसारित सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष ,सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा प्रेस सेन्टर नेपाल मधेस प्रदेशका संयोजक समेत रहनुभएको छ ।
उक्त पुरस्कारबाट यसअघिका वर्षमा गया यादव, कन्हैयालाल केसरी, ओमप्रकाश खनाल, श्याम बन्जारा, पंकज श्रेष्ठ, बृजलाल पासवान, शत्रुघन नेपाल लगायत पत्रकारहरू सम्मानित भइसक्नु भएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल को अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको विशेष उपस्थिति रहेको थियो ।