दिपकप्रसाद गौतम
वीरगञ्ज(पर्सा), माघ ६ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि कुल एक सय ९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार पर्साको चार सिटका लागि एक सय ९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिनु भएको हो ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा ३० जना , क्षेत्र नम्बर २ मा ३२ जना, क्षेत्र नम्बर ३ मा २३ जना र क्षेत्र नम्बर–४ मा २४ जनाको उम्मेदवारी दर्ता भएको हो ।
क्षेत्र नम्बर १ मा कांग्रेसबाट अनिलकुमार रुंगटा, नेकपा एमालेबाट प्रदीप यादव, नेकपाबाट अजय चौरसिया , जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट बुद्धि बहादुर (हरि) पन्त, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ सहित ३० जनाले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, नेकपा एमालेबाट रिमा यादव, नेकपाबाट मनोज चौधरी, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमत पार्टीबाट श्याम गुप्ता लगायत गरी ३२ जना उम्मेदवारले उम्मेदवारी दिएका छन ।
क्षेत्र नम्बर ३ मा कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपा एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमत पार्टीबाट मालती कुशवाहा लगायत २३ जनाको उम्मेदवारी दर्ता भएको हो ।
क्षेत्र नम्बर ४ मा कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमत पार्टीबाट सिमादेवी कलवार लगायत २४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन ।
चारै निर्वाचन क्षेत्रमा मुख्य दलका चर्चित अनुहारसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यसपटक पर्साको निर्वाचन प्रतिस्पर्धात्मक र रोचक बन्ने संकेत देखिएको छ ।
पर्सा जिल्लामा ४४१ वटा मतदान केन्द्र र १६७ वटा मतदान स्थल कायम गरिएको पर्सा जिल्लामा कुल तीन लाख ७६ हजार ५१३ मतदाता रहेकोमा महिला एक लाख ६४ हजार ४२१ र पुरुष दुई लाख १२ हजार ७७ तथा अन्य १५ जना रहेका छन ।