वीरगञ्ज महानगरको प्रमुख सिंहको नाम जोडिएकोमा स्वकीय सचिवद्वारा निन्दा

वीरगञ्ज (पर्सा), फागुन २० गते ।
वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहको नाम बिना प्रमाण वीरगञ्ज १९ ईनर्वाको घटनामा जोडिएको भन्दै नगरप्रमुख सिंहका स्वकीयसचिव सत्यराज घिमिरेले एक बिज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्नु भएको छ ।
निर्वाचनको मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्दै आफनै निजी निवासमा रहनुभएका नगर प्रमुखज्यूलाई लक्षित गरी अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गरी नगरप्रमुखलाई बद्नाम गर्न खोजिएको जनाउदै स्वकीयसचिव घिमिरेले बिज्ञप्तीमार्फत घटनाको निन्दा गर्नु भएको हो ।
स्वकीयसचिवद्वारा जारी बिज्ञप्तीमा अनुसन्धान अधिकारीद्वारा घटनाको थप छानबिन जारी रहेको बताईएको अवस्थामा बिना प्रमाण पूर्वाग्रही ढंगले नगरप्रमुखको नाम जोडेर समाचार प्रकाशन गर्नु पत्रकारिताको न्यूनतम् मूल्य, मान्यता र प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन आचारसंहिता विपरीत रहेको दाबी गरिएको छ ।
नगर प्रमुखज्यूलाई लक्षित गरी अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा प्रत्यक्ष आघात पुर्याउने कार्य भएकोले सामाजिक सद्भाव खल्बल्याउने, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने तथा व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले गरिएको उक्त प्रकाशनमाथि यथाशीघ्र निष्पक्ष छानबिन गर्न माग गरिएको छ । त्यस्तैगरी यस्तो कार्य गर्ने व्यक्ति तथा सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई र निर्वाचन आचारसंहिता उल्लंघनमा कारवाहि गर्न निर्वाचन आयोग नेपाललाई जारी बिज्ञप्तीमा माग गरिएको छ ।

सम्बन्धित खबर







