नेपाली सेनाले भन्यो: एकीकृत सुरक्षा योजनाअनुसार सेना परिचालित छ

वीरगञ्ज (पर्सा), फागुन २० गते । आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएको जनाएको छ।
सेनाले आज सार्वजनिक गरेको अपीलमार्फत सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै निर्वाचन सुरक्षासम्बन्धी कार्य प्रभावकारी रूपमा अघि बढाइएको स्पष्ट पारेको हो।
निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सुरक्षा अङ्गहरूबीच समन्वयात्मक ढङ्गले काम भइरहेको सेनाको भनाइ छ।
निर्वाचनलाई स्वच्छ र व्यवस्थित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सबै पक्ष सक्रिय रहेका बेला विभिन्न माध्यमबाट प्रसारित अतिरञ्जित तथा भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सेनाले जनाएको छ।
सुनियोजित ढङ्गले फैलाइने यस्ता गलत सूचनामा विश्वास नगर्न तथा अरूलाई पनि विश्वास नगराउन सर्वसाधारणमा सेनाले आग्रह गरेको छ। साथै सत्य र आधिकारिक सूचनामात्रै आधार बनाउन समेत अपील गरिएको छ।

सम्बन्धित खबर







