निर्वाचनलाई मौसमको साथ

काठमाडौँ, फागुन २१ गते । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा यस पटक मौसमले साथ दिएको छ । मतदानको पूर्ण तयारी भइसकेको अवस्थामा थप मौसमी तयारी गर्नु नपर्ने गरी मौसमले साथ दिएको हो ।
निर्वाचनको अघि, निर्वाचनको अवधिभर र निर्वाचनपछिको केही दिनका लागि नेपालको मौसम सफा रहने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । निर्वाचनको अघिल्लो दुई दिन धुम्म देखिएको आकाश निवार्चनको दिन झन् खुलेर सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी विगत एक महिनादेखि निर्वाचनको दिन र आसपासको मौसमी अवस्था अनुगमन गरिरहेका छौँ, मतदानको दिन सबैतिरको आकाश र मौसम सफा हुने देखिएको छ ।”
देशको अवस्था सुधार गर्न मौसमले पनि साथ दिएकाले ढुक्कसँग मतदानमा सरिक हुने अवसर मतदातालाई रहेको उहाँले बताउनुभयो । हिमाली र पहाडी भेगका केही भेगमा हल्का बादल देखिए पनि त्यसले मतदान अवधिभर हिमपात र वर्षा गराउने क्षमता राख्दैन । विभागले विगत एक महिनाअघि निर्वाचनको दिन ठुलो वर्षा र हिमपातको सम्भावना नरहेको जनाएको थियो । तथापि बिच बिचमा फेरबदल भइरहने मौसम प्रणालीको निरन्तर अनुगमन जारी राखेको जनाएको छ ।







