काठमाडौँ — अभिनेत्री रेखा थापा काठमाडौं क्षेत्र नं ४ की मतदाता हुन् । यही ठाउँबाट उनले तीनचोटि मतदान गरिसकिन् । एकपटक त मतदाता सूचीमा नामै थिएन । संविधानसभा निर्वाचनमा नागरिकता देखाएरै मतदान गरिन् । दोस्रोचोटि त पर्सा क्षेत्र नं १ बाट आफैं उम्मेदवार थिइन् ।

अघिल्लो निर्वाचनमा मतदान गरेकी रेखा यो निर्वाचनमा भने त्यति उत्साहित छैनन् । २०८४ मा हुनुपर्ने निर्वाचन कसैका स्वार्थका लागि दुई वर्षअघि नै धकेलिएको हो कि भन्ने उनलाई लागेको छ । ‘यो चुनाव यसरी अचानक, कसका लागि ? कसको स्वार्थका लागि ? आएको हो ? जनताका लागि आएकोजस्तो लाग्दैन । त्यसैले म उत्साहित छैन,’ उनले भनिन्, ‘यो राज्यको ढुकुटी सक्ने मेलो होजस्तो लाग्छ । यसले निकास दिन्छ होला भनेर आशा गरौं तर खासै निकास हुन्छ भनेर भरोसा छैन ।’

अभिनेता विपिन कार्की मोरङ क्षेत्र नं ४ बाट मतदान दिँदैछन् । विपिन बेलुकाको फ्लाइटबाट मोरङ पुग्दैछन्, मतदानकै लागि । व्यक्ति हेरेरै नै विपिनले मतदान गर्दै आएका छन् । ‘कस्ता व्यक्ति उठेको छ ? उनीहरुको योगदान कस्तो छ भनेर हेरिन्छ,’ विपिन भन्छन्, ‘कसले गर्न सक्छ ? मेरो भोटको उपयोग कसले गर्न सक्छ भन्ने कुरामा म सचेत छु ।’ विपिनलाई यो निर्वाचनमा पुराना भन्दा पनि नयाँलाई मौका दिने मन छ ।

अभिनेता विजय बराल भने आजै सर्लाही पुगेका हुन् । मतदानकै लागि काठमाडौंबाट उनको यात्रा सर्लाही सोझिएको हो । मतदान दिएर भोलि नै उनी काठमाडौं फर्कँदैछन् । विजय सर्लाही क्षेत्र नं १ का मतदाता । सर्लाहीबाटै कांग्रेस उम्मेदवार गगन थापा निर्वाचन लड्दै गरेकाले पनि यो पटकको माहोल सर्लाहीमा बेग्लै रहेको विजयको विश्लेषण छ ।

पहिले निर्वाचनमा नदेखिएको उत्साह यो पटक आफूले अरुको अनुहारमा देखेको विजय सुनाउँछन् । ‘एकदम उत्साह छ निर्वाचनलाई लिएर । सबैमा त्यो उत्साह देखिन्छ, माहोल राम्रो छ,’ विजयले भने, ‘कसले के गर्छ भन्ने भन्दा पनि आफ्नो मत दिनुपर्छ भनेर आम नागरिक जसरी हिँड्नु भएको छ । उहाँहरुमा यो उत्साह झन बढी देखिन्छ । बुझेर विचार गरेर मतदान गर्छु । मतदानकै लागि यति लामो यात्रा गरेर सर्लाही आइपुगेको छु ।’ भोलि सरकारमा पुगेकाहरुलाई प्रश्न गर्नकै लागि पनि आफूले एक नागरिकको जिम्मेवारी वहन गर्न मतदान गर्ने निर्णयसहित आफू सर्लाही पुगेको विजयले सुनाए ।

अभिनेता खगेन्द्र लामिछाने पनि मतदानका लागि गृह जिल्ला स्याङ्जा पुगिसकेका छन् । ‘आजै स्याङ्जा आइपुगेँ । अब भोलि भोट हाल्छु,’ खगेन्द्रले सुनाए । उनी स्याङ्जा क्षेत्र नं १ का मतदाता हुन् । निर्वाचनपछि बन्ने नयाँ सरकारका लागि खगेन्द्र उत्साहित सुनिए ।

‘नयाँ सरकार बन्छ निर्वाचनपछि । नयाँ बन्ने सरकारले नयाँ उत्साहका साथ देशमा विकासको काम गर्ला । देशमा रोजगार सिर्जना गर्ला,’ खगेन्द्रले भने, ‘जुनै दल आए पनि सरकार त नयाँ हुन्छ । त्यसैले परिवर्तन होला भन्ने आशासहित मतदान गर्न आइपुगेको छु ।’

खगेन्द्र मतदानको भोलिपल्टै छायांकनका लागि ताप्लेजुङ कुदिहाल्नेछन् । अशोक शर्माको फिल्म ‘डब्बल त्रिप्पल’को काम छाडेर निर्वाचनकै लागि खगेन्द्र स्याङ्जा पुगेका हुन् । चुनाव पछाडि निर्माण टोली छायांकनमा जानेछ । काठमाडौं, बिर्तामोडदेखि ताप्लेजुङमा अहिले फिल्मको अन्तिम चरणको काम भइरहेको छ ।

अभिनेता प्रदीप खड्काले भने यसपटक फिल्मकै कारण मतदान गर्न नपाउने भएका छन् । अहिले फिल्म ‘ऐरी’को छायांकन चितवनमा भइरहेको छ । फिल्मको दोस्रो सेड्युलको छायांकन सकेर प्रदीप मतदानका लागि काठमाडौं फिर्ने तयारीमा थिए । तर, फिल्ममा जोडिएका अन्य कलाकारको काम पहिला सक्ने पर्ने भएका कारण उनी चितवनमै अड्किएका छन् ।

‘भोट हाल्नै नपाउने भो यसपालि,’ प्रदीपले भने, ‘आउने भन्दाभन्दै यस्तो भयो । हिजै निस्कन खोजेको, तर मेरै भागको छायांकन बाँकी भो त्यसैले अल्झिएँ ।’ ‘ऐरी’को छायांकन सुरु भएको करिब ३०/३५ दिन भयो । प्रदीपका अनुसार अझै फिल्मको छायांकन ७५ दिन हुनेछ । ६० दिन चितवनमा छायांकन गरेर १०/१५ दिन लोमान्थाङ, ढोरपाटनमा गरिने योजना रहेछ । प्रदीप ललितपुर क्षेत्र नं ३ का मतदाता हुन् ।