काठमाडौँ — युएई सरकारले एक नेपालीसहित १० जनालाई सामाजिक सञ्जालमार्फत युद्ध सम्बन्धी भ्रामक भिडियो फैलाएको आरोपमा पक्राउ गरेको छ ।

खलिज टाइम्सका अनुसार पक्राउ पर्नेमा दुई भारतीय, तथा नेपाल, बंगलादेश, पाकिस्तान, इजिप्ट, फिलिपिन्स, भियतनाम, इरान र  क्यामरुनका एक–एक नागरिक छन् ।

उनीहरुले युएइमा भएको आक्रमण र त्यसमा हवाई प्रतिरक्षा प्रणालीले गरेको अवरोधका दृश्यहरु सामाजिक सञ्जालमा अपलोड गरेको खलिज टाइम्सको समाचारमा उल्लेख छ ।

जमिनमा खसेका क्षतिग्रस्त वस्तु तथा त्यस्ता कठोर क्षणहरु नियालिरहेको भीडको दृश्य पनि उनीहरुले सामाजिक सञ्जालमा हालेका छन् ।

छानविनका क्रममा कतिपयले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर युएइका प्रतिष्ठित स्थानहरूमा बिस्फोट, ठूलो आगलागी र बाक्लो धुवाँ उठेकोजस्तो देखिने झूटा दृश्य तयार गरेको तथा त्यसलाई फैलाएको देखिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यी सामाग्रीहरुले समाजमा त्रास फैलाउने उनीहरुको दाबी छ ।

युएइमा भ्रामक सुचना फैलाएर राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने वा सामाजिक स्थायित्व कमजोर पार्ने कार्यका लागि कम्तिमा एक वर्ष कैद र कम्तिमा १ लाख दिराम जरिवाना सजायको व्यवस्था छ