काठमाडौँ — कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको टुंंगो आइतबार लगाउने भएको छ । कांग्रेस सभापति गगन थापासहितका पदाधिकारीहरूको शनिबारको अनौपचारिक छलफलमा निर्वाचित हुने उम्मेदवारहरू छनोटका विषयमा प्रारम्भिक छलफल भएको हो । कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउँदै छ । त्यसमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने अनिवार्य कानुनी व्यवस्थाका कारण १५ जना महिला कांग्रेसले छनोट गर्नुपर्ने हुन्छ । पुरुषतर्फ ५ जनाले मात्रै पाउँछन् ।

कांग्रेसको विशेष महाधिवेशन भएर थापा नेतृत्वमा नयाँ नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति आउनु पूर्व नै समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकिएको थियो । पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा समानुपातिक सूची बुझाइएको हो । ‘त्यसमा धेरै चलाउने ठाउँ छैन, केही खाली रहेका ठाउँमा के गर्ने भन्नेबारेमा सामान्य छलफल भएको हो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘त्यतिबेला देउवाले आफ्नो समूहबाटै बढी प्रतिनिधित्व हुने गरी सूची बुझाएकाले धेरै तलमाथि गर्ने ठाउँ छैन ।’

प्रवक्ता देवराज चालिसेले आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर नाम टुंग्याउने र संसदीय बोर्डबाट अनुमोदन गरिने बताए । कांग्रेसको विधानमा उम्मेदवारको अन्तिम निर्णय संसदीय बोर्डबाट गर्नुपर्ने व्यवस्था छ ।