काठमाडौँ, चैत  १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आइतबार सिफारिस भएकाहरूको सूची  निर्वाचन आयोगमा बुझाउने भएको छ ।

बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना  मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई बताउनुभयो ।

बैठकले ५७ जना सांसदको नाम टुङ्ग्याएर आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइने छ । जसमा खसआर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ५ जना गरी ५७ जना रहेका छन् ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको नामावली भने तत्काल सार्वजनिक नगर्ने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र कानुनबमोजिम मिलेका नामावली आयोगले नै सार्वजनिक गर्ने उहाँको भनाइ छ । पार्टीले सिफारिस गरेका नामहरू राजनीतिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकाले तत्काल सार्वजनिक नगरेको उहाँले बताउनुभयो ।

प्रवक्ता झाले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई आज नै तोकिएको समयसीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गरेका छौँ । जसमा खसआर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ५ जना हुनुहुन्छ । यसमा विधिले माग गरेबमोजिम ४८ महिला र ९ पुरुष रहनुभएको छ ।’ उहाँले रुजु र प्रमाणीकरणको प्रक्रिया सकिएपछि आयोगबाटै नामहरू सार्वजनिक हुने स्पष्ट पार्नुभयो ।

बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरकार, सुरक्षा निकाय र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । साथै, बैठकले अस्वस्थ रहनुभएका पार्टी सभापति रवि लामिछानेलगायतका नेताहरूको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।