चैत्र ०१ गते

सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मातृका यादव विजयी भएका छन् ।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि निर्वाचन आयोग ले बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्र ले कालोसूचीमा राखेको आधारमा फागुन १८ गते साहको उम्मेदवारी खारेज गरेको थियो । साहको स्वामित्वमा रहेको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै आयोगले उम्मेदवारी रद्द गरेको थियो ।#

उक्त निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्च अदालतमा पहिलो रिट निवेदन दिएका थिए । त्यसको पहिलो सुनुवाइ फागुन २५ गते भएको थियो भने फागुन २९ गतेका लागि तोकिएको सुनुवाइ हुन सकेको थिएन ।

यसैबीच उनले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रले आफूलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै फागुन २७ गते अर्को रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारंगा सुवेदी को इजलासले कर्जा सूचना केन्द्रबाट प्राप्त पत्रमा साह कालोसूचीमा नदेखिएकाले अन्तरिम आदेश जारी गरेको थियो ।

तर आइतबार सर्वोच्च अदालतले उम्मेदवारी खारेजसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि साहको उम्मेदवारी खारेज यथावत् रहने भएको छ । यससँगै निर्वाचन आयोगले यसअघि घोषणा गरेअनुसार धनुषा–१ बाट नेकपाका उम्मेदवार मातृका यादवको जित भएको छ ।