मनोज चौधरीलाई फसाउने प्रयास भएको भन्दै जनस्तरबाट आवाज उठ्न थाल्यो

चैत, १ वीरगंज । वीरगंज । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का नेता तथा पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका मनोज चौधरीलाई फसाउने प्रयास भएको आवाज जनस्तरबाट उठ्न थालेको छ। निर्वाचनअघि उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको आरोपमा पक्राउ परेका चौधरी १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर लामो समयसम्म पनि अनुसन्धानकै नाममा हिरासतमा राखिएको भन्दै विभिन्न व्यक्तिहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । यता अनुसन्धानको नाममा नेतालाई दुःख दिएको भन्दै प्रहरीको आलोचना पनि सुरु भएको छ।
वीरगंजका अधिवक्ता सुरेन्द्र कुर्मीले मनोज चौधरी बम बनाउने वा पड्काउने किसिमका व्यक्ति नभई लामो समयदेखि राजनीतिमा सक्रिय नेता भएको बताएका छन् । जसपा नेपालका केन्द्रिय सदस्य समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै चौधरीजस्ता विद्यार्थी राजनीतिबाट उदाएका नेता आफ्नै गाडीमा बम राखेर हिँड्न नसक्ने दाबी गरेका छन्। उनले घटनामा षड्यन्त्रको आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका युवा नेता राकेश यादवले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मनोज चौधरीलाई आफूले विद्यार्थी नेताको रूपमा चिनेको र उनी बम राखेर हिँड्ने व्यक्ति नभएको बताएका छन्। राज्यले घटनाबारे छिटो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनले माग गरेका छन्।
यस्तै अन्य युवाहरूले पनि नेकपाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई फसाउने षड्यन्त्र भएको बताएका छन् । प्रहरीले चाँडै निष्पक्ष छानबिन गर्नुपर्ने माग भइरहे पनि १३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउँदा प्रहरीको कामकारबाहीमाथि प्रश्न उठ्न थालेको छ।
यसअघि नेकपा पर्साका नेताहरूले पनि आफ्ना उम्मेदवारलाई फसाउने प्रयास भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए।
यता, चौधरीका परिवारजनले चुनावी समयमा ज्यान मार्ने षड्यन्त्र भएको दाबी गर्दै प्रहरीले उल्टै उनलाई हिरासतमा राखेर दुःख दिएको आरोप लगाएका छन् । प्रहरीले भने घटनाबारे अहिले पनि अनुसन्धान नै भइरहेको जनाएको छ । साभार ः कालिका टाईम्स डटकम

सम्बन्धित खबर







