बजार अनुगमन र गुणस्तरीय सेवा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चैत, १ वीरगंज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा उपभोक्ता अधिकार, बजार अनुगमन तथा गुणस्तरीय वस्तु–सेवा उपलब्धतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” मूल नाराका साथ आइतबार आयोजित कार्यक्रममा उद्योग विभाग वीरगञ्ज, पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको सहकार्य रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल तथा उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहको उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायत विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले उपभोक्ताको अधिकार संरक्षण, बजार अनियमितता नियन्त्रण तथा गुणस्तरीय वस्तु–सेवा सुनिश्चित गर्न राज्य, व्यवसायी र उपभोक्ताले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न प्रभावकारी बजार अनुगमनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
वक्ताहरूले उपभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्यसूची तथा गुणस्तरसम्बन्धी जानकारी अनिवार्य रूपमा जाँच गर्नुपर्ने बताए। कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमन प्रणाली, सेवा–सुविधा तथा गुनासो व्यवस्थापन प्रक्रियाबारे समेत जानकारी प्रदान गरिएको थियो।
हरेक वर्ष मार्च १५ मा विश्वभर मनाइने विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ताको सुरक्षा, अधिकार र हित संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइन्छ। कार्यक्रमको सञ्चालन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले गरेका थिए।

सम्बन्धित खबर







