एसईईको उत्तरपुस्तिका परीक्षा सेन्टरमै ३ दिनभित्र परीक्षण गरिने

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्र (सेन्टर) मा नै परीक्षण गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका ३ दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा सचिव चुणामणि पौडेलले बताए ।
‘यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ । केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आएमा परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने ।
उत्तरपुस्तिका परीक्षा सेन्टरमै परीक्षण गराउने कि इकाईमा ल्याएर परीक्षण गर्ने विषयमा सम्बन्धित इकाईलाई नै निर्णय गर्ने अधिकार दिइएको बोर्डले जनाएको छ । ‘तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क बोर्डमा पठाउनुपर्छ,’ बोर्डका उपाध्यक्ष समेत रहेका शिक्षा सचिव पौडेलले भने, ‘परीक्षा सकिएको ३ दिनभित्र परीक्षण सक्न सर्कुलर गर्दैछौं ।’
उत्तरपुस्तिका परीक्षण सकिएपछि इकाईले विद्यार्थीको प्राप्ताङ्क बोर्डमा पठाउने निर्णय गरिएको छ । त्यसपछि विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गरेर नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको उनले बताए । उक्त कार्यतालिकाअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । अघिल्ला वर्षहरूमा केन्द्रबाट उत्तरपुस्तिका इकाईले संकलन गरी अन्तर जिल्ला र प्रदेशमा परीक्षण गर्ने गरिएको थियो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने विषय गोप्य रहने गरेको थियो । त्यसो गर्दा नतिजा प्रकाशन गर्न औसतमा साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । तर यसपटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा सेन्टरमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो ।
बिहीबारबाट सुरु हुने एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले परीक्षा दिँदैछन् । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए ।
जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने अधिकारीले बताए ।
सबै जिल्लाका परीक्षा केन्द्रमा प्रश्नपत्र लगायत परीक्षा सामग्री पुगिसकेको कार्यालयले जनाएको छ । चैत १९ गतेदेखि सुरु हुने परीक्षा २९ गते सकिने समयतालिका छ । गत माघ ७ गते राष्ट्रिय परीक्षा बोर्डले समयतालिका सार्वजनिक गरेको थियो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । समयतालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । दोस्रो दिन चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
नियमित तथा ग्रेडवृद्धि दुवै समूह तर्फको परीक्षा सोही समयतालिकाअनुसार हुने कार्यालयले जनाएको छ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता ब्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाइएको छ । अपाङ्गता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्न सक्ने व्यवस्था छ ।

सम्बन्धित खबर







