वीरगञ्ज चैत १८ गते ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार वीरगन्जमा भएको प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरीलाई पराजित गरेको छ । सुपरओभरमा पुगेको रोमान्चक खेलमा लुम्बिनीले बाजी मारेको हो ।
टिबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ३९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सफल भयो। एपीएफका लागि अभिषेक गौतमले २८ रन र दीपक बोहराले २० रन बनाए पनि अन्य ब्याटरहरू उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
लुम्बिनी प्रदेशका बलरहरू प्रभावशाली देखिए। अजय चौहानले ९ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए भने सन्तोष यादवले ३ विकेट हात पारे।लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले सहज रूपमा खेल नियन्त्रणमा राखेको थियो। जवाफी व्याटिङ गर्दा लुम्बिनीले ३४ ओभरमा १ सय २४ रन बनाउँदै अलआउट हुन पुग्यो । उसका लागि देव खनालले ६४ र आकाश त्रिपाठीले ३२ रनको योगदान गरे । एपीएफका रोहितकुमार पौडेलले १० ओभरमा २८ रन दिई ३ र भुवन कार्कीले १० ओभरमा १९ रन दिई २ विकेट हात पारे ।
दुवै टिमले समान रन बनाएर नतिजा अनिर्णीत भएर खेल सुपरओभरमा गएको थियो । जसमा लुम्बिनीले १४ रन बनाएर एपीएफलाई १५ रनको लक्ष्य दिएको थियो । तर एपीएफ ६ रनमै समेटिएपछि लुम्बिनी ८ रनले विजयी हुन पुग्यो ।