गौशाला (महोत्तरी), चैत २९ गते । देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च झण्डै तेब्बर बढी रहेको देखाउँछ, जसले सेवा दीर्घकालीन रूपमा आर्थिक संकटतर्फ धकेलिँदै गएको सङ्केत गरिरहेको छ।

कम्पनीको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपियाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपियाँ खर्च भएको उल्लेख गरेको छ। यस अवधिमा कुल ४८ करोड १५ लाख ८० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको छ।

पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा मात्र ८ करोड ५० लाख आम्दानी हुँदा २६ करोड २७ लाख रुपियाँ खर्च भएको छ। हाल मासिक आम्दानी करिब ७५ लाख रुपियाँ भएपनि खर्च १ करोड २९ लाख रुपियाँ पुग्ने गरेको छ।

आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको छ। २०८१ असार मसान्तसम्म सावाँ र ब्याजसहित कुल ऋण ७९ करोड रुपियाँ नाघिसकेको छ, जसले कम्पनीमाथि थप आर्थिक दवाव सिर्जना गरेको छ।

यात्री सेवाका हिसाबले भने रेल प्रभावकारी मानिएको छ। भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन भइरहेको रेल सेवा दैनिक तीन पटक चल्छ।

धनुषाको खजुरीका ५५ वर्षीय उपेन्द्र ठाकुरका अनुसार रेलले दैनिक जीवन सहज बनाएको छ। मोटरसाइकलमा एक घण्टा लाग्ने दूरी रेलबाट १५ मिनेटमै पार गर्न सकिन्छ। तर यात्रु सुविधा बढ्दै जाँदा पनि कम्पनीको वित्तीय अवस्था भने कमजोर बन्दै गएको छ।

घाटाको प्रमुख कारणमध्ये भारतीय प्राविधिक कर्मचारीमा हुने उच्च खर्च मुख्य मानिएको छ। हाल १७ जना भारतीय कर्मचारी कार्यरत छन्, जसका लागि कम्पनीले भारतीय कोंकन कम्पनीलाई मासिक करिब १ करोड १२ लाख रुपियाँ भुक्तानी गर्दै आएको छ। यसको विपरीत नेपालीतर्फ १०३ कर्मचारीको कुल तलब मात्र १७ लाख रुपियाँ छ।

स्थायी प्राविधिक जनशक्तिको अभाव, वर्कसपको कमी, स्वदेशी चालक तथा स्टेशन मास्टरको अभाव, फ्युलिङ स्टेशन नहुनु र इन्धनसमेत भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च अझ बढाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। यसको साथै कम्पनी लामो समयदेखि महाप्रबन्धकविहीन रहेको हुँदा समेत व्यवस्थापन कमजोर बनेको छ।

विसं १९९४ मा सुरु भएको रेल सेवा २०७० मा ब्रोड गेज विस्तारका लागि बन्द गरिएको थियो। २०७८ चैत १९ देखि पुनः सञ्चालनमा आएको रेल हाल ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ।

कम्पनीले रेल्वेको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न विभिन्न विकल्प अघि सारेको छ। रक्सौलस्थित २८ एकड जग्गा भाडामा दिँदा वार्षिक करिब ८ करोड आम्दानी हुने अनुमान गरिएको छ। साथै पुरानो न्यारो गेज रह्दाको कोइला इन्जिन सहितका चिजहरुलाई रेल म्युजियम स्थापना गरी पर्यटनमार्फत आय बढाउने योजना पनि अघि सारेको छ।

स्थानीय व्यापारीहरूले यात्रु सेवासँगै मालसामान ढुवानी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उहाँहरूका अनुसार यात्रु मात्र बोक्ने सेवाबाट नाफा सम्भव छैन।

तत्कालिन महाप्रबन्धक निरञ्जन झाले नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालन जति सक्दो छिटो सञ्चालनमा ल्याउनु आवश्यक्ता रहेको बताउनुभयो। उहाँले आफ्नो कार्यकालको बेला अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल समेत गरिएको जानकारी दिनुभयो ।

भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि जनकपुर क्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

जनकपुरका व्यवसायी निर्मल चौधरीले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्तो हुने बताउनुभयो ।

समयमै व्यवस्थापन सुधार, स्वदेशी दक्ष जनशक्ति उत्पादन, मालवाहक सेवा विस्तार र ऋण व्यवस्थापन गर्न सके रेल सेवा नाफामुखी बन्न सक्ने देखिन्छ । अन्यथा, बढ्दो ऋणले नेपालको एकमात्र रेल सेवा थप सङ्कटमा पर्ने निश्चितजस्तै देखिएको छ।