दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १२ गते ।
वीरगञ्जमा फैलिएको झाडा पखाला तथा हैजाको सङ्क्रमण नियन्त्रणमा आउनेक्रममा रहेको छ ।
वीरगञ्जमा गएको शुक्रबार साँझ तीन जनामा फेला परेको हैजाको सङक्रमण विहीवार साँझसाढे पाँच बजेसम्मको परीक्षण रिपोर्ट अनुसार फैलिएर १ सय ४३ जनामा पुगेको छ । तर उपचाररत बिरामीको संख्या भने घट्दोक्रममा रहेको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार विहीबार नयाँ ८४ जना झाडापखालाका बिरामीहरु अस्पताल भर्ना भएकामा ११ जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो । यता विहीबार नै १८ जना हैजा सङ्क्रमित सहित १ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म झाडा पखाला तथा हैजाका ६ सय १२ जना बिरामी बिभिन्न अस्पतालमा भर्ना भएकोमा ४ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएपछि १ सय ७८ जना मात्र बिभिन्न अस्पतालमा उपचाररत छन् । जसमा ६९ जना हैजाका बिरामी रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा ६८ जना, नेशनल मेडिकल कलेजमा १८ जना ,तराई अस्पतालमा ३९ जना , वीरगञ्ज हेल्थकेयर अस्पतालमा १९ जना बिरामी उपचाररत छन् ।
यस्तैगरी सर्वोत्तम अस्पतालमा ५ जना , एडभान्स मेडिकेयर अस्पतालमा ८ जना , प्रभु अस्पतालमा ८ जना , नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ५ जना र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन् ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ११ , तराई अस्पतालमा ३३ , नेशनलमेडिकल कलेजमा १३ , भवानी अस्पतालमा २ जना , वीरगञ्ज हेल्थ्यकेयर अस्पतालमा ३ जना , मंगलम प्याथोलोजीमा २ नेपाल ईण्डो अस्पताल र निलकण्ठ अस्पताल र बयोधा अस्पताल मा १/१ जना हैजा पुष्टि भएका बिरामी उपचाररत रहेका छन् ।
शुक्रबार ३ जना , शनीबार ३९ जना , आईतबार २९ जना , सोमबार २२ जना , मंगलबार २१ जना र बुधबार १८ जना झाडा पखाला लागेर अस्पतालमा भर्ना भएका बिरामीमा हैजाको सङ्क्रमण पुष्टि भएकोमा विहीबार ११ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
परीक्षण गरिएका सबै पानीको नमूनामा हैजा फैलाउने जीवाणु फेला परेन
वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट वडा नं. १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै पानीको नमूना परीक्षण गर्दा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ ।
हैजा प्रभावित वडा नं. १०, ११ र १२ का तीनवटा डिप बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमूना संकलन गरिएको सबै नमूनाको रिर्पोट ‘नेगेटिभ’ आएको हो ।
यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ ।