वीरगञ्ज । पर्सा जिल्ला सुरक्षा समितिको निर्णय विपरीत सञ्चालन गरिएका भारतीय नम्बर प्लेट भएका २० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन १८ गतेदेखि २०८२ फागुन २१ गते मध्यरात १२:०० बजेसम्म पर्सा जिल्लाभर भारतीय नम्बर प्लेट भएका सवारी साधनको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध निर्वाचनसँग सम्बन्धित सुरक्षा संवेदनशीलता तथा आचारसंहितालाई ध्यानमा राखेर जारी गरिएको हो ।

उक्त प्रतिबन्धको उल्लङ्घन गर्दै सडकमा सञ्चालन गरिरहेका मोटरसाइकलहरू इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै २० वटा मोटरसाइकलहरूलाई हाल इलाका प्रहरी कार्यालय पोखरियामै राखिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जारी गरिएको आदेशलाई बेवास्ता गरी चलाइएका यी मोटरसाइकलहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले स्थानीय प्रशासनको निर्णय तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ । यस्ता प्रतिबन्धहरूको उल्लङ्घन गरेमा थप कारबाही हुने पनि प्रहरीले जनाएको छ ।