दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस १४ गते ।
वीरगञ्ज महानगरपालिकाको सोमबार सम्पन्न १९ औं नगर अधिवेशनले असोजमा गरिएको विशेष अधिवेशनले कटौती गरेको वडाको बजेट पुनः थप गरेको छ ।
गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनमा महानगर कार्यालयका सबै संरचनामा क्षति पुगेकाले ति संरचना पुनःनिर्माणको लागि महानगरका ३२ वटै वडाको २५ प्रतिशत बजेट असोजमा भएको विशेष अधिवेशनले कटौती गरेको थियो ।
सोमबार सम्पन्न १९ औं नगर अधिवेशनले कटौती गरिएको वडाको बजेटलाई पुन थप गरी चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत राखिएको नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको आय–व्यय प्रस्तुत गर्दै नगर प्रमुख सिंहले बिनियोजन वार्षिक कुल तीन अर्ब २२ करोड रुपियाँमध्ये बितेको पाँच महिनाको अवधीमा १ अर्ब १३ करोड रुपियाँ खर्च भएको बताउनु भयो ।
बिनियोजित बजेटमा चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत गरी समग्रमा बजेटको ३३ प्रतिशत खर्च भएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताउनु भयो ।
अधिवेशनमा नगर प्रमुख राजेशमान सिंह , उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।