दिपकप्रसाद गौतम

वीरगञ्ज, पुस २२ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरुमा सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि जारी गरेको कर्फ्यु आदेशको समय थपेर मंगलबार दिउँसो १ बजे सम्म पुर्‍याएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार बिहान एक सुचना जारी गर्दै पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मंगलबार दिउँसो १ बजेसम्म निरन्तरता दिईएको जानकारी दिनु भएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
कफ्र्यू आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न , कुनै पनि प्रकारको भेला , जुलुश , प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ ।
कर्फ्युका बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसंग समन्वय गरी निस्किन सुचनामा भनिएको छ ।
त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु , एम्बुलेन्स , शववाहन , स्वास्थ्यकर्मीका सवारीसाधन , सञ्चारकर्मी , पर्यटक सवारी साधन , मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाईएको छ ।
धनुषाको कमला नगरपालिकामा दुई समूहबीच बढेको तनावको विरोधमा आइतबार बिहानैदेखि एक समुहले वीरगञ्जमा सुरु गरेको प्रदर्शन सोमबार पनि जारी राखेको र अर्को समुहले पनि सोमबार बिहानैदेखि प्रदर्शन गर्न थालेपछि उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा त्यसपछि कर्फ्यु आदेश जारी गरेको हो ।