दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २२ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मंगलबार साँझ ६ सम्म पुर्‍याएको छ ।
दुई समूहबीच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मंगलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार दिउँसो एक सुचना जारी गर्दै पूर्वमा बसपार्क , नगवा , इनर्वा , पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला तोकी जारी गरिएको कर्फ्यु आदेश पछिल्लो सुरक्षा वस्तुस्थितीलाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेसम्म निरन्तरता दिईएको जानकारी दिनु भएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेबाट अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम सोही क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो त्यसपछि स्थानीय प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो भने पहिलो पटक मंगलबार दिउँसो १ बजेसम्म त्यस पछि मंगलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु आदेश जारी भएको क्षेत्रमा कसैले आवतजावत गर्न , कुनै पनि प्रकारको भेला , जुलुश , प्रदर्शन , सभा , बैठक , घेराउ गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख छ ।
कर्फ्युका बेलामा सुरक्षकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाट ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसंग समन्वय गरी निस्किन सुचनामा भनिएको छ ।
त्यस्तैगरी कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु , एम्बुलेन्स , शववाहन , स्वास्थ्यकर्मीका सवारीसाधन , सञ्चारकर्मी , पर्यटक सवारी साधन , मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाईएको छ ।