दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २२ गते ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले बिभिन्न पाँचवटा निर्णय गरेको छ ।
दुई पक्षको प्रदर्शनपछि तनाव तथा सम्भावित झडपको जोखिम दृष्टिगत गर्दै स्थानीय प्रशासनले कफ्र्यू जारी गरी समस्या समाधानको लागि आवहन गरेको सर्वदलीय बैठक पाँचवटा निर्णय गर्दै टुंगिएको हो ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडका विरोधमा वीरगञ्जमा आइतबार प्रदर्शन गरिएकोमा अर्को पक्षले प्रदर्शनको प्रतिक्रियामा आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगञ्जमा तनाव बढेको थियो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा मंगलबार बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले अन्य मुलुक तथा स्थानमा घटेका घटना तथा दुर्घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन र आन्दोलन नगर्ने प्रतिबद्धता जनाउदै सबै पक्षलाई समेटेर सर्वदलीय तथा सर्वपक्षीय स्थायी संयन्त्र बनाउने निर्णय गरेको छ ।


पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर ज्ञापनपत्र बुझाई अनुमति प्राप्त गरेपछि मात्र आन्दोलनका कार्यक्रम गर्न निर्णय सर्वदलीय तथा सर्वपक्षीय बैठकले गरेको छ ।
यस्तैगरी सबै प्रकारका मिडियाकर्मीले धार्मिक तथा सामाजिक सद्भाव कायम हुने र खलल नपुग्ने किसिमका समाचार मात्र सम्प्रेषण गर्ने , धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय बैठकले गरेको हो ।
सबै पक्षले आफ्ना कमजोरीको समीक्षा गर्दै आफ्ना समुदायलाई सद्भाव कायम गर्न प्रेरित गर्ने र बैठकमा सहभागी संस्था तथा व्यक्तिहरूले आफ्ना सामाजिक सञ्जाल, वेबसाइटमार्फत यस निर्णयको समर्थनमा जानकारी सार्वजनिक गर्ने सहमति पनि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद प्रसाद पोखरेल जानकारी दिनु भयो । पर्साका सुरक्षा प्रमुखहरु , धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि, अभियन्ता , राजनीतिक दलका प्रतिनिधि , सञ्चारकर्मीहरु सहभागि रहेको सर्वदलीय तथा सर्वपक्षीय बैठक बिहान १० बजे बसेर सबै पक्षका विचार सुनी विचार विमर्श गरी दिउँसो ३ बजे सहमतीमा पुगेको हो ।


स्थानीय प्रशासनले पहिलो पटक वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र दोश्रोपटक समय थपी मंगलबार साँझ ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको थियो ।