१९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अहिले मौन अवधि कायम छ । १९ गते राति १ बजेबाट मौन अवधि सुरु भएसँगै चुनावी प्रचार–प्रसार गर्न प्रतिबन्ध छ ।

तर, यस्तो अवस्थामा आचारसंहिता विपरीतका काम, विभिन्न चलखेल हुनसक्ने भन्दै सुरक्षा निकाय चनाखो भएका छन् । एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ अनुसार अहिले चारै वटा सुरक्षा निकायले गस्ती, पेट्रोलिङलाई तीव्र रूपमा अघि बढाएका छन् ।

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनाले गस्तीलाई तीव्र पारेको छ । बख्तर बन्द गाडीहरूसमेत निकालेर गस्ती अघि बढाएको छ । मोटरसाइकल गस्ती पनि जारी राखिएको छ ।

मौन अवधिको पहिलो दिन बिहानै काठमाडौं उपत्यकामा दुई वटा सवारीमा आगजनी भए । सुकेधारा बा७च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भयो । आगजनी भएको ठाउँमा दुर्गा प्रसाईं समूहको पर्चा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईको भनाइ छ ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । उनी अहिले भक्तपुर प्रहरीको हिरासतमा छन् ।

आगजनीमा संलग्न दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।

प्रसाईं समूहलाई निर्वाचन बहिष्कारको समूहमा प्रहरीले रोखेको थियो । प्रसाईंसँगै विभिन्न १२ वटा समूहलाई निर्वाचनमा सुरक्षा चुनौती बनाउन सक्ने भन्दै प्रहरीले निगरानीमा राखेको थियो । तर उनीहरूबाट अहिलेसम्म कुनै त्यस्तो ठूलो क्षति हुने काम नभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।

त्यस्तै, आजै सशस्त्र प्रहरी बलको टोलीले भक्तपुरबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गर्‍यो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइ पक्राउ परे ।

भुम्डोल बस्दै आएका उनीबाट राइफल र एसएलआरको ४ राउन्ड गोली, प्लास्टिक राउन्ड २ वटा, सट गनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।

उनीबाट बरामद हतियार जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ । उनी हतियार नै लिएर निर्वाचन बिथोल्न हिँड्नेभन्दा पनि हतियार कोठामा लुकाएर राखेको सूचना पाएपछि सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।

विराटनगरमा भने बिहानै बम जस्तो शंकास्पद वस्तु भन्दै त्रास फैलियो । रातिबाट यस्तो सूचना आएपछि रातभर सुरक्षा सतर्कता बढाइयो । प्रशासन कार्यालयको नजिकै शंकास्पद वस्तु देखिएपछि त्रास बढ्नु स्वाभाविक थियो ।

नेपाली सेनाको सूर्यदल गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा भने त्यो शंकास्पद वस्तु हाँडी रहेको खुल्यो ।

बर्दिबासको रातु पुलमा पनि त्यस्तै शंकास्पद वस्तु फेला परेको छ । सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको छ ।

अहिलेसम्म निर्वाचन बिथोल्न खोज्ने १४२ जना पक्राउ परेका छन् । प्रहरी प्रवक्ता काफ्लेका अनुसार देशभरबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटेका छन् ।

चुनाव हुँदैन भन्ने ज्योतिष पनि पक्राउ परेका छन् । ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

उनीलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जना समातिएका छन् । सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचारसंहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको हो ।

केन्द्रीय निर्वाचन सेलअन्तर्गत साइबर सेलहरू खडा गरिएको छ । यही साइबर सेलले सातै प्रदेशबाट ३२ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १७ जना छुटेका छन् भने १५ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।

तराईको होली आज भए पनि मंगलबार परेका कारण भोलि बुधबार मनाइन्छ । आज तराई/मधेशका ठाउँहरूमा कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ ।