२२ चैत,काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको सरकारी टोलीसँग आज सिंहदरवारमा हुने भनिएको वार्ता अस्वीकार गरेको छ। सरकारले आज दिउँसो ३ बजेका लागि वार्तामा आउन महासंघलाई आह्वान गरेको थियो।

शिक्षक महासंघले वार्तालाई खारेज गरे पनि सरकारी टोली भने छलफलका लागि सिंहदरवारमा उपस्थित भएको बताइएको छ। बिहीवार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएपछि महासंघलाई वार्ताका लागि बोलाइएको थियो। आजको छलफलमा गृहमन्त्री, मुख्य सचेतक र प्रमुख सचेतक पनि सहभागी हुने भनिएको थियो।शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू २० चैतदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले २०८० असोजमा सरकारसँग भएको सहमति अनुसार तत्काल ऐन जारी गर्न माग गरिरहेका छन्।

शिक्षक महासंघले पटक–पटक सरकारले सम्झौता गरेर धोका दिएको भन्दै यसपटकको आन्दोलनलाई ‘अन्तिम लडाइँ’ को संज्ञा दिएको छ। महासंघले सरकारसँग ठोस सहमति नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ।