वीरगञ्ज(पर्सा), बैशाख ३० गते ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिनु नै नेपाल प्रहरीको मुख्य दायित्व भएको बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको समुद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको मुख्य दायित्व शान्ति सुरक्षा कायम गर्नु मात्रै नभई नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिनु भएको बताउनु भएको हो ।
उहाँले प्रहरी संगठनलाई समयानुकूल, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी बनाउने अभियान जारी रहेको बताउनु हुँदै प्रहरी र समुदायबीचको सम्बन्ध बलियो भए मात्रै अपराध नियन्त्रण तथा सामाजिक शान्ति कायम गर्न सहज हुने दाबी गर्नु भयो ।
नेपाल प्रहरीे जनताको सेवक भएको बताउदै महानिरीक्षक कार्कीले जनताको अपेक्षा अनुसार काम गरेर नेपाल प्रहरीेलाई नागरिकको भरोसाको संस्थाका रूपमा अझ मजबुत बनाएर लैजाने धारणा राख्नुभयो । नागरिकको सुझाव र गुनासोलाई प्रहरीले गम्भीर रूपमा लिने गरेको उल्लेख गर्दै सेवा सुधारलाई निरन्तर अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल प्रहरीे संगठनभित्र आवश्यक सुधार गर्दै यसका सेवाहरुलाई अझ पारदर्शी बनाएर आम नागरिक नडराईकन प्रहरी कार्यालय पुगी आवश्यकीय सेवा पाउने आशा भरोसा महसुस गर्ने वातावरण बनाईने बताउनु भयो ।
प्रहरी संगठनभित्र अनुशासन र आचरणलाई थप कडाइका साथ लागू गरिने स्पष्ट पार्दै उहाँले भन्नुभयो , ‘नेपाल प्रहरीप्रति जनताको विश्वास बढाउनु अहिलेको मुख्य लक्ष्य हो । सेवामा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता स्वीकार्य हुँदैन ।’
    महानिरीक्षक कार्कीले रिबन काटेर समुद्घाटन गर्नुभएको महिला, बालबालिका तथा जेष्ठ नागरिक भवन संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (युनोप्स)ले २ करोड ४८ लाख ६६ हजार १ सय ८७ रुपियाँको लागतमा निर्माण गरी हस्तान्तरण गरेको हो । युनोप्सका अपरेसन को–अर्डिनेटर इन्द्र न्यौपाने र इन्फ्रास्टक्चर म्यानेजर शिशिर उपाध्यायले नेपालमा ३८ जिल्लाका प्रहरी कार्यालयमा यस्तै ५८ भवन निर्माण गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल , मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेत तथा राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना , जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनीले गर्नुभएको भने प्रहरी निरीक्षकहरू निरोज चौगाई, विक्रम सुवेदी तथा युवराज कटवालको पनि सहभागिता रहेको थियो ।
नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएपछि पीडितहरूलाई कानुनी सहायता, परामर्श, सुरक्षा तथा न्यायिक पहुँचलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास लिइएको छ ।