वीरगञ्ज , श्रावण ३० ।  पछिल्लो समय मधेस प्रदेश र देशका अधिकांश जिल्लामा डेंगीको सङ्क्रमण फैलिँदै गएको छ ।

गत पुसको मध्यदेखि अहिलेसम्ममा २ हजार ९५२ जनामा डेंगी सङ्क्रमण देखिएको पुष्टि भएको छ । डेंगी सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने गत एक सातामा १८० नयाँ सङ्क्रमित थप भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्कले जनाए अनुसार मधेस प्रदेशमा १८, कोशी प्रदेशमा ४७, बागमती प्रदेशमा २९८, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेसमा १८ र कर्णालीमा ६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमै देखिएको छ

स्वास्थ्य विज्ञहरूले वास्तविक सङ्क्रमितको सङ्ख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने दाबी गरेका छन् । ईडीसीडीले उपलब्ध तथ्याङ्क राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्याङ्क वास्तविक डेंगी सङ्क्रमणको एक सानो भाग मात्र भएको छ । १० हजार मानिसलाई डेंगी भयो भने १ हजार मानिसमा मात्रै लक्षण देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा सङ्क्रमण हुने गरेको छ ।

एक पटक लामखुट्टे सङ्क्रमित भएपछि उसका वंशजहरूमा समेत सङ्क्रमण हुने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले धेरै बिरामीले लक्षणविहीन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई सङ्क्रमण

सारिरहेको अवस्था रहेको बताए । डा. बसौलाले मनसुनपछिको अवधिमा सङ्क्रमण बढ्ने भएकाले आगामी दिनमा डेंगी सङ्क्रमित सङ्ख्या बढ्न सक्ने अनुमान गरे ।

एडिस एजेप्टाइ र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी सङ्क्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगीका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगीबाट १८ हजार मानिस सङ्क्रमित भएका थिए ।

४३ जिल्लामा फैलिएको डेंगीले १२ जनाको मृत्यु भएको थियो । त्यसयता देखि नै हरेक वर्ष ठूलो सङ्ख्यामा सङ्क्रमित देखिन थालेको छ । अहिले सो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहँदै आएको छ । सन् २०२२ मा डेंगी सङ्क्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी सङ्क्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

२०२३ मा कोशी प्रदेशमा डेंगी फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना सङ्क्रमित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । विश्व परिवेश र सहरीकरण कारण डेंगीलाई पूर्णतः घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । सहरी क्षेत्रमा डेंगी फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन छ ।

ईडीसीडीले यस वर्ष सबैभन्दा खराब अवस्थामा यस वर्ष ६० हजारलाई सङ्क्रमण हुनसक्ने अनुमान गरेको छ । एनका अनुसार पानी जम्मा गर्न राखिएका ड्रम र बाल्टीहरू, पुराना टायर र फोहोरमैला, कौसी खेतीका गमला, खुला खाल्डाखुल्डीमा जमेको पानी स्थानहरू एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस प्रजातिका लामखुट्टेका लागि प्रजनन स्थल छन् ।

विगत एक दशकमा तराईदेखि पहाडी जिल्लासम्म फैलिएको डेंगी अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै गएको छ । दुई दशक अघिसम्म काठमाडौँ उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘किटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।

जनस्वास्थ्यविद्का अनुसार डेंगीको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुने गरेको छ ।

डेंगी भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकूल मानिन्छ । डेंगी नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ ।