दिपकप्रसाद गौतम
भारत(रक्सौल), बैशाख १३ गते
छिमेकी मुलुक भारतको रक्सौलमा रहेको नेपाल रेलवेको अर्बौको सम्पत्ति दशकौदेखि अलपत्र अवस्थामा रहेको छ ।
सिमावर्ती सहर रक्सौलको भारतीय रेल स्टेशनको उत्तरतपट्टी रहेको नेपाल रेलवेको १६ बिघा १ कट्ठा ४ धुर जग्गा र त्यसमा रहेका भौतिक संरचना बेवारिसे अवस्थामा दशकौंदेखि अलपत्र रहेको हो ।
नेपाल रेलवेको अतिथि भवन, ट्राफिक कार्यालयको आवास गृह ,३ वटा गोदाम , टेलिफोन भवन , टेलिफोन अधिकारीको निवास, रेलवे स्टेशन भवन, स्टेशन मास्टर र सहायक स्टेशन मास्टरको आवास गृह लगायतका भौतिक संरचना रहेको नेपाल रेलवेको १६ बिघा १ कट्ठा ४ धुर जग्गाको अधिकांश अहिले जग्गा अतिक्रमणमा परेको छ ।
अहिले अतिथि भवन, ट्राफिक कार्यालयको आवास गृह ,३ वटा गोदामको केही भग्नावशेष मात्र बाँकि रहेको छ त्यसमा पनि रुखविरुवा, झारपातका कारण जंगलजस्तो बनेको छ । भवन तथा खाली जग्गा लागुऔषध प्रयोगकर्ता तथा तस्करहरुको अखडा बनेको छ ।
छेवैमा रहेको भारतीय रेलवेको जग्गा भने अतिक्रमणमा परेको छैन तर नेपाल रेलवेका कर्मचारी नआउने गरेकाले ति भवनहरूलाई भारतीय नागरिकले आफनोजस्तै बनाएका छन । उक्त जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरी करिब २ सयवटा छाप्रा बनाएर तुमडीया टोल नामाकरण गरेर वसोवास गरिरहेका छन ।
सन् १९२७ जुन १९ मा तत्कालीन इस्ट इन्डिया कम्पनीसंग नेपाल सरकार (तत्कालिन नेपालका राणा शासक ) ले उक्त जग्गा ३१ हजार ७ सय २५ भारतीय रुपियाँमा खरिद गरेका थिए । त्यतीखेर भारतीय जग्गाधनीहरुलाई नेपाल सरकारले अधिग्रहण गरेबापतको मुआब्जा मोतिहारी जिल्ला कलेक्टरमार्फत उपलब्ध गराएको थियो । वि.सं. २०२२ मा रक्सौल–अमलेखगन्ज रेल सेवा पूर्ण रूपमा बन्द भएपछि रेलवेका ट्रयाक, भवन, उपकरण , जग्गा जस्ता सम्पूर्ण सम्पत्ति नेपाल यातायात तथा पारवहन संस्थानलाई हस्तान्तरण गरिएको थियो । यसरी करिब ३० वर्ष पहिले नेपाल रेलवेका सबै सम्पत्ति नेपाल यातायात तथा पारवहन संस्थानको नाममा स्थानान्तरण भएको थियो । नेपाल यातायात तथा पारवहन संस्थानलाई सरकारले वि.सं. २०५८ सालमा खारेज गरेपछि नेपाल रेलवेको सम्पत्ति बेवारिसे हुन पुगेका हुन् ।
११ जून २००७ मा वीरगञ्जमा भारत मोतिहारीका तत्कालीन डिस्ट्रिक्ट मजिस्ट्रेट जीवनकुमार सिन्हा र पर्साका प्रमुख जिल्ला अधिकारी दीपककुमार जोशीबीच उक्त जग्गाबाट अतिक्रमणकारीलाई हटाउने सहमति भएको थियो । तर हालसम्म पनि उक्त सहमति कार्यान्वयन भएको छैन ।
रेलवे सेवा बन्द भएपछि विस्तारै स्थानीय बासिन्दाले जग्गा र भवन भोगचलन गर्न थाले भने रेलवे लिकसमेत काटेर बेचविखन भईसकेको छ । बाँकि रहेका भवनहरूका काठका झ्याल ढोका पनि छैनन् सबै निकाली सकिएको छ ।
नेपालको प्रमुख व्यापारिक नाकाको सिमावर्ती सहर रक्सौलको भारतीय रेलवे स्टेशनमा नेपाली व्यापारीहरूले आफ्‌नै देशको जग्गा र गोदामघर हुँदा हुँदै उपयोग विहिन भएकाले भारतबाट आयातित वस्तु राखेबापत भारतीय रेलवेलाई वार्षिक करोडौ रुपियाँ राजस्व तिर्दै आएका छन् । यसतर्फ वर्तमान सरकारले सोच्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतमले बताउनु हुन्छ ।
रक्सौल अमलेखगन्ज रेलवेको संक्षिप्त ईतिहास
नेपालसँग व्यापार सजिलो बनाउने उदेश्यले ब्रिटिस भारत सरकारले निर्माण गरेको भारतको रक्सौलबाट नेपालको अमलेखगन्जसम्मको यो रेलसेवा करिब ४७ किलोमिटर लामो थियो ।
विशेष गरी काठ, जडिबुटी आयात गर्ने र लत्ता कपडा , खाद्यान्न दैनिक उपभोग्य सामान निर्यात गर्ने उदेश्यले ब्रिटिस भारत सरकारले वि.सं. १९८० तिर निर्माण सुरुगरी वि.सं. १९८४ मा रक्सौल अमलेखगन्ज रेलसेवा सञ्चालन ल्याएको थियो ।
नेपाल–भारत सीमा जोड्ने पहिलो रक्सौल अमलेखगन्ज रेलसेवा सडक यातायातको विकास भएसंगै आर्थिक घाटा अनि पुरानो संरचनाका कारण मर्मत, इन्धन, कर्मचारी आदि खर्च धेरै भएपछि बन्द हुन पुगेको थियो । साँघुरो गेजको रेलवे लिक पूरानो भापबाट चल्ने (स्टीम इन्जिन) जस्ता पुरानो प्रविधिमा आधारित यस रेलवे सेवा समयअनुसार आधुनिकीकरण हुन नसक्दा बस, ट्रक जस्ता सवारी साधनहरूसंग प्रतिस्पर्धा गर्न नसकि बन्द भएको हो ।
यो रेल सेवा करिब वि.सं. १९८४ सालदेखि सुरु भएर करिब ३८ वर्ष सञ्चालनमा आई वि.सं. २०२२ सालमा पूर्णरुपमा बन्द भएको थियो । यात्रुवाहक सेवा वि.सं. २०१८ सालतिर बन्द भएको थियो भने मालसामान ढुवानी (कार्गो) सेवा २०२२ सालमा बन्द भएको हो ।
नेपालमा रेलको इतिहास सुरु गरेको यस रक्सौल अमलेखगन्ज रेलमार्गको रेलवे लिक (ट्र्याक) मात्र होईन अधिकांश स्टेशनहरू हराइसकेका भने करिब करिब सबै जग्गा अतिक्रमणमा परिसकेका छन् ।
त्रिभुवन राजपथ बनेपछि काठमाडौं र तराई जोड्ने सडक सजिलो हुनु , मानिसहरूले सामान ढुवानीका लागि ट्रक र बसको प्रयोग गर्नुले महंगो पर्ने रेलवे सेवाको आवश्यकता घटदै गएको थियो । भारतबाट आउने सामान रक्सौलबाट रेलमाग हुदै नेपालको अमलेखगन्जमा भित्रिएपछि भरिया/खच्चडको प्रयोग गरेर अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौं पुर्‍याइन्थ्यो ।