दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर २२ गते ।
वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ ।
व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आईतबार बजार शुभारम्भ गरिएसंगै अभाव पूरा भएको छ ।
वीरगञ्ज महानगरपालिकाले वडा नम्बर २ रेल्वे रोड छपकैयामा निर्माण गरिएको यो तरकारी तथा फलफूल थोक बजार पहिलो चरणमा ७० लाख रुपियाँ खर्च गरेर १४ युनिटमा २८ सटरबाट सञ्चालनमा ल्याइएको छ भने आगामी चरणमा थप ७० लाख रुपियाँ लगानी थपेर अझ युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजना वीरगञ्ज महानगरको रहेको छ ।
महानगर प्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सयुक्तरुपमा गमलामा पानी हालेर शुभारम्भ गर्नुभएको यस बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध रहेको महानगरले जनाएको छ ।
व्यवस्थित थोक बजार सञ्चालनमा आएसंगै किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता हटेको छ । बीपी उद्यानको खाली जग्गामा हाल सञ्चालनमा रहेको अस्थायी तरकारी थोक बजारलाई यस नवनिर्मित थोक बजारमा स्थानान्तरण गरिने उदघाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंहले बताउनु भयो ।
स्थानीय समुदायको भूमिका बजार संचालनको मुख्य आधार हुने धारणा राख्दै नगर प्रमुख सिंहले भन्नुभयो , ‘बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीयकै भूमिका महत्वपूर्ण हुन्छ । हुन त बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्नु पर्ने योजना हो तर व्यवसायीको कारण ढिलाइ भएको थियो । अब यो छपकैयावासीकै पहिचान र नाम हो ।’

समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले बजार सञ्चालनमा आउँदा व्यवसायीलाई दीर्घकालीन सहज हुने जसका कारण किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताउनु भयो ।
करिब तीन दशकदेखि विवादमा रही कानुनी प्रक्रियाबाट सार्वजनिक कायम भएको बजार निर्माण गरिएको जग्गा विभिन्न व्यक्तिले कागजात तयार गरी कब्जा गर्ने प्रयास गरेका थिए ।
मालपोत कार्यालयले १६ असोज २०८१ मा विभिन्न स्थानीय व्यक्तिले गरेको स्वामित्व दाबीहरू खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो ।