१९ माघ,वीरगञ्ज ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोटेलाल यादवले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदाताले सही उम्मेदवारको पहिचान गर्न अत्यन्तै आवश्यक रहेको बताएका छन्।

प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा सम्पन्न परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू अन्य उम्मेदवारहरूको तुलनामा योग्य, सक्षम तथा जनतासँग प्रत्यक्ष रूपमा जोडिएको उम्मेदवार भएको दाबी गर्नुभयो।

उहाँले सधैं जनताको दुःख–सुखमा सहभागी हुँदै आएको उल्लेख गर्दै जनताले आफूलाई विश्वास गर्ने पर्याप्त आधार रहेको बताउनुभयो। साथै, क्षेत्रवासी तथा सञ्चारमाध्यमले निर्वाचन क्षेत्रमा रहेका सबै उम्मेदवारहरूको विगत, कार्यशैली र यथार्थलाई निष्पक्ष रूपमा जनतासमक्ष पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

यादवले अन्य उम्मेदवार निर्वाचित भए भ्रष्टाचार बढ्ने दाबी गर्दै आफू विजयी भए पर्सा–३ को समग्र विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवार पटक–पटक सांसद र मन्त्री बने पनि क्षेत्रमा उल्लेखनीय विकास गर्न नसकेको आरोप समेत लगाउनुभयो।

आगामी निर्वाचनमा नेकपाको कुनै विकल्प नरहेको दाबी गर्दै यादवले पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल तथा समाजवादी प्रेस संगठनसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।साभार रेसखबर