२० वर्षदेखि फरार कलवार पक्राऊ

वीरगञ्ज, मङ्सिर २२ गते ।
पर्सा प्रहरीले २० वर्षदेखि फरार जिउ मास्ने बेच्ने सम्बन्धी कसुरमा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिक वडा नम्बर १९ नगवाका ४५ वर्षीय सुरेशप्रसाद कलवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार प्रहरीले उनलाई विशेष सूचनाको आधारमा आइतबार साँझ पौने ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ को सडकबाट पक्राउ गरेको हो ।
पर्साको साबिक विन्दवासिनी गाविस वडा नम्बर ६ बस्ने बृजेशप्रसाद कलवारको २०६२ चैत १७ गतेको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी सुरेशप्रसाद कलवार समेत रहेको जिउ मास्ने बेच्ने सम्बन्धी कसुर मुद्दामा उनी संलग्न रही वारदातपछि २० वर्षदेखि हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनु भएको छ ।
पक्राऊ परेका कलवार उपर जिउ मास्ने बेच्ने सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको नायव उपरीक्षक बस्नेतले बताउनु भयो ।







