दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर २२ गते ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम शर्माले वीरगञ्जस्थित नारायणी अस्पतालको स्थलगत अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा मन्त्री शर्माले वीरगञ्ज स्थित नारायणी अस्पताल संघीय सरकारको लागि उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै विगतको तुलनामा हाल अस्पताल जीर्ण अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरी अस्पताल सुधारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले अस्पतालको आकस्मिक कक्ष, मेडिकल वार्ड, सर्जिकल वार्ड, आईसीयू वार्ड लगायतका विभिन्न वार्डहरुको निरीक्षण गर्दै अस्पतालको सेवा प्रवाह र वस्तुस्थितिका बारेमा विस्तृत जानकारी लिनु भएको थियो ।
अस्पतालको सभाहलमा आयोजित अनौपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.चितरन्जन साहले अस्पतालको सेवा प्रवाह र वस्तुस्थितीका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
पर्सा जिल्लाको नारायणी अस्पतालमा स्रोतसाधन हुँदाहुँदै पनि किन स्वास्थ्य क्षेत्रमा पछि परेको छ ? यसको बारेमा सबैपक्षले सोच्नुपर्ने धारणा राख्दै मन्त्री शर्माले  अस्पतालमा नर्सहरुको संख्या बढाउन पहल गरिने, अस्पतालको भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर भवन विभागसँग समन्वय गरी समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
दरबन्दी हुँदाहुँदै पनि स्वास्थ्यकर्मीहरु वीरगञ्जको नारायणी अस्पतालमा आउन नमान्ने समस्यालाई समाधान गर्न सबैले मिलेर काम गर्ने उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिदै मन्त्री शर्माले भौतिक संरचना निमार्णका लागि अस्पतालको नयाँ भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाई बजेटमा पारिने आश्वासन दिनु भयो ।
अनुगमन पश्चात आयोजित अनौपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान पर्साका उपअनुसन्धान निर्देशक संतोष दाहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता लगायतको उपस्थिति रहेको थियो ।