सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासनको अपिल

दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २० गते ।
धनुषाको कमला नगरपालिकामा दुई समूहबीच बढेको तनावको विरोधमा आइतबार बिहानैदेखि वीरगञ्जमा प्रदर्शन सुरु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ ।
वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गर्नु भएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सद्भावमा खलल पुर्याउने खालको कुनै पनि गतिविधि नगर्न सार्वजनिक अपिल गर्नु भएको छ ।
’एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेकाले यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन उक्त अपिलमा अनुरोध गरिएको छ ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विरोधमा वीरगञ्ज आसपासका स्थानमा आइतबार टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिएको थियो ।
वीरगञ्जकी छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरी ५ राउण्ड अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले बताउनुभयो ।
प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीतर्फ सात जना सामान्य घाइते भएको र दिउँसो साढे १२ बजेसम्म स्थिति सामान्य बनेको उहाँले जानकारी दिनु भयो ।
छपकैया , घण्टाघर , मुर्लीचोक लगायतमा बिभिन्न ठाउँमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका देखिन्थे भने प्रहरीले प्रदर्शनकारीहरुलाई लखेटी बलेको टायर निभाउने काम गरेको थियो ।

सम्बन्धित खबर







