हिन्दू धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूमाथि अभद्र र आपत्तिजनक टिप्पणी गर्नेहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै सोमबार वीरगञ्जमा हजारौँको सहभागितामा विरोध प्रदर्शन गरिएको छ।
हिन्दु समाजको आह्वानमा आयोजित उक्त जुलुसमा विभिन्न धार्मिक संघ–संस्था, युवा, महिला तथा समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बिहान गहवामाई मन्दिर अगाडिबाट सुरु भएको जुलुस माइस्थान, आदर्शनगर हुँदै अघि बढेको थियो।

सम्भावित धार्मिक तनावलाई ध्यानमा राख्दै सुरक्षाकर्मीले जुलुसलाई छपकैया क्षेत्रमा प्रवेश गर्न नदिई घडिअर्वा पोखरीतर्फ मोडेको थियो। घडिअर्वा, माइस्थान चोक र घण्टाघर हुँदै जुलुस जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनका क्रममा सहभागीहरूले हिन्दु धर्ममाथि आपत्तिजनक टिप्पणी गर्नेहरूलाई कारबाही गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए। उनीहरूले धार्मिक सद्भाव र सामाजिक शान्ति भङ्ग गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका थिए।
कोणसभालाई सम्बोधन गर्दै हिन्दु समाजका अगुवा सन्तोष सर्राफले विदेशी भूमिमा बसेर हिन्दु धर्म, देवी–देवता तथा पर्वमाथि अभद्र टिप्पणी गरेर समाजमा विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाए। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी तथा कूटनीतिक माध्यमबाट समेत कारबाही गर्न सरकारसँग माग गरे। यसैबीच, धार्मिक आस्था र भावनामा चोट पुर्‍याउने गतिविधिहरू नियन्त्रण गर्ने विषयमा हिन्दु समाजका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा रहेको सुरक्षा समितिबीच छलफल सुरु भएको जनाइएको छ।
यसअघि आइतबार साँझ पनि हिन्दु युवाहरूले वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालेर विरोध जनाएका थिए।