दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २१ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम नगरका मुख्य तथा सम्वेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
धनुषाको कमला नगरपालिकामा दुई समूहबीच बढेको तनावको विरोधमा आइतबार बिहानैदेखि एक समुहले वीरगञ्जमा सुरु गरेको प्रदर्शन सोमबार पनि जारी राखेको र अर्को समुहले पनि सोमबार बिहानैदेखि प्रदर्शन गर्न थालेपछि उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार शान्ति सुरक्षा कायम राख्नका लागि निषेधाज्ञा जारी भएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।
निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट रहेको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी सुचनामा दिईएको छ ।
पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो ।
धनुषाको कमला नगरपालिकामा दुई समूहबीच बढेको तनावको विरोधमा एक समुदायले वीरगञ्जमा प्रदर्शन गर्दै बजार बन्द गराउने तथा अर्को समुदायका व्यक्तिहरुले प्रदर्शन गर्दै बजार बन्द खुलाउने गर्न थालेपछि सम्भावित झडप तथा शान्ति सुव्यवस्थामा खलल पुग्ने देखेपछि स्थनीय प्रशासनले निषेधाज्ञा जारी गरेको बताईएको छ । स्थानीय प्रशासनले वार्ताबाट विवादको समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक सुदीपराज पाठकले निषेधाज्ञाका बिच पनि वीरगञ्जको विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारीहरूबिच झडप भएको र प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि केही सेल अश्रुग्याँस पनि चलाइएको जानकारी दिनु भयो ।
अर्कोतर्फ घण्टाघर चोक, माइस्थान चोक, बसपार्क चोक पावरहाउस चोक लगायतका वीरगञ्जको अधिकांश स्थानमा जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नलाग्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ ।