वीरगञ्ज, पुस २१ गते । पर्सा प्रहरीले वीरगञ्जको विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्जको अवस्था उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रशासनको आदेश जारी भए पनि त्यसलाई तोड्दै हिन्दुवादी संगठनहरूले महानगरको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको हो ।

‘प्रहरीमाथि ढुङ्गामुढा तथा प्रहार गर्नेदेखि लिएर उच्छृङ्खल गतिविधि गर्नेहरूलाई अहिले नियन्त्रणमा लिइएको छ,’ डीएसपी कार्कीले भने । उनले नियन्त्रणमा लिइएका प्रदर्शनकारीहरू सबै समुदायका रहेको पनि स्पष्ट पारेका छन् ।

प्रदर्शनको सिलसिला जनकपुरको एक घटनापछि सुरु भएको थियो । जनकपुरमा मस्जिदमाथि आक्रमणको विरोधमा आइतबार बिहान मुस्लिम समुदायले प्रदर्शन गरेको थियो ।

त्यसपछि हिन्दु देवी देउतामाथि अभद्र टिप्पणी गरिएको भन्दै आक्रोशित हिन्दुवादी सङ्गठनहरूले निषेधाज्ञा तोड्दै आज (सोमबार) प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अवस्था थप तनावग्रस्त बनेपछि प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको थियो ।