वीरगञ्जको कर्फ्यू हट्यो मंगलबार बिहान ८ बजेसम्म निषेधाज्ञा

दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन ११ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार बिहान ९ः४५ देखि लगाएको कर्फ्यू आदेश हटाएको छ भने मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
पार्किङको विषयमा दुई समुदायका युवाहरुमा भएको विवादले झडपको रुप लिन थालेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार एक सुचना जारी गर्दै बिहान ९ः४५ देखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) पूर्वमा बाईपास रोड , पश्चिममा श्रीर्सिया नदी , उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सिमानाभित्र कसैले आवतजावत गर्न , कुनै पनि प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा , बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको थियो ।

उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका अगुवा, हिन्दू र मुस्लिम समुदायका अगुवाहरुको सहभागितामा सोमबार बसेको सर्वपक्षीय बैठकले तीन बुँदे निर्णय गरेको छ ।
सदभाव समितिको अग्रसरतमा बसेको उक्त सर्वपक्षीय बैठकले आइतबार बेलुकी वीरगञ्ज–११ श्रीपुरमा भएको घटना तथा उक्त घटनाबाट श्रृजित घटनाक्रमका दोषीहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउने र त्यसका पिडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया यथाशिघ्र अगाडि बढाउने , दोषीहरुलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरुले समेत सहजीकरण गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी उक्त बैठकले व्यक्तिगत घटना/दुर्घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, समाजिक सञ्जालमा भाइरल बनाउने,हेट स्पीच प्रसारण गर्नेलाई साइबर कानुन तथा प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
बैठकमा सहभागी जसपा पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार आगामी दिनमा धार्मिक, सामाजिक सदभाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक तथा समाजिक अगुवा र जनप्रतिनिधिहरुले आ–आफ्नो संस्था तथा निकायबाट विज्ञप्ति प्रकाशन गर्ने निर्णय गरेको छ ।
सर्वपक्षीय बैठक सकिएलगतै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू हटाई निषेधाज्ञा जारी गरेको हो ।

सम्बन्धित खबर







